कारोबार


देशभर ९१ प्रतिशत मात्रै धान रोपाइँ

गत वर्ष अहिलेसम्म सतप्रतिशत रोपाइँ भएको थियो
देशभर ९१ प्रतिशत मात्रै धान रोपाइँ

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:०, काठमाडौँ

देशभर ९१ प्रतिशत धान रोपाइँ सकिएकाे छ। गत वर्ष अहिलेसम्म सतप्रतिशत रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ।

मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव सात, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। उनका अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।

मधेस प्रदेशमा सबैभन्दा कम ७६ प्रतिशत रोपाइँ भएकाे छ। गत वर्ष मधेसमा अहिलेसम्म ९७ प्रतिशत रोपाइँ भएको थियो। यहाँ मनसुन अलि ढिला सक्रिय भएकाले प्रतिशतका हिसाबले सबैभन्दा कम रोपाइँ भएको पाइएको जोशीले बताए। मधेसमा आवश्यक वर्षा हुन नसकेकाले रोपाइँ प्रभावित भएको उनको भनाइ छ।

मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको बताउँदै उहाँले पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने उनको भनाइ छ।

मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टिले नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको जोशीले उल्लेख गरे। पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad