कारोबार


तारे होटलमा कोदोको सेल

तारे होटलमा कोदोको सेल

नेपालखबर
साउन २६, २०८२ सोमबार ९:५४, काठमाडौँ

नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन्।

पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरेको छ।

पाँचतारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौँ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासनादार सेलरोटीले नेपालीमात्र नभई विदेशी पाहुनाको पनि मुख रसाएको थियो।

रिसोर्टको डाइनिङ हल नै सेलरोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरूले पछि भने रोटी थपी–थपी खाए।

रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए। नेपाली परिकारको छुट्टै लाइभ(किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो । नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो।

नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मुतरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए।

विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरू बताउँछन्।

होटल सङ्घ नेपाल ९हान०का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताँछन्। ‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्धनसँगै यसको व्यवसायिकतालाई पनि जोड्नुपर्छ’, अध्यक्ष शाहले भने, ‘नेपाली खानाको धेरै माग छ। ठूला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ।’

अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ। नेपाली पर्यटकको चहल पहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए।

‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो’, संयोजक सापकोटाले भने।

सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँचतारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए। विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वास्थ्यकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए। ‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर बिस्तारै कोदो फापर सिस्नोजस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नसके सबै होटल रेस्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ’, उनले भने।

अभियानले यसअघि विभिन्न रेस्टुराँमार्फत नेपाली खानाको प्रवर्द्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच संस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad