इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने योजना अनुमोदन गरेको छ। यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूरै गाजा क्षेत्र नियन्त्रणमा लिइने संकेत दिएका थिए। यद्यपि उनले 'गाजालाई आफूसँग राख्ने' चाहना नरहेको बताएका छन्।
त्यसो भए गाजा र त्यहाँ रहेको सशस्त्र समूह हमासको भविष्य के हुन्छ?
नेतन्याहुको धारणा आउनुभन्दा केही दिनअघि हमासले स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने बताएका थिए।
गाजामा युद्धविरामसम्बन्धी जारी वार्तामा इजरायल र अमेरिकाको मुख्य मागलाई अस्वीकार गर्दै हमासले उक्त प्रतिक्रिया दिएको थियो। इजरायलले हमासको नि:शस्त्रीकरण आफ्नो उद्देश्यमध्ये एक भएको बताएको थियो।
इजरायल के ठान्छ भने जारी द्वन्द्व अन्त्य गर्ने उपायमध्ये एक हो- हमासको नि:शस्त्रीकरण।
गत हप्ता साउदी अरेबिया र फ्रान्सको सह-अध्यक्षतामा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सम्मेलनमा १७ देश, युरोपेली संघ र अरब लिगले संयुक्त घोषणापत्र जारी गरे।
जसमा युद्ध अन्त्यका लागि हमासलाई हतियार र गाजाको नियन्त्रण त्याग्न माग गरिएको छ।
गाजामा भएको वार्तामा मध्यस्थकर्ताको भूमिका खेल्ने इजिप्ट र कतारले यो संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे। तर इजरायल र अमेरिकाले हस्ताक्षर गरेनन्।
हमासले लडाइँ जारी राख्ने
हमासका नेता गाजी हमादले अल जजिरा न्युजसँग भनेका छन्, ‘हाम्रो समूह अन्तिम गोली सम्म लड्नेछ।’
उनको भनाइले प्यालेस्टिनी राज्य स्थापना नभएसम्म सशस्त्र संघर्ष जारी राख्ने हमासको अडान दोहोर्याउँछ।
गाजाको अल-उम्मा विश्वविद्यालयका प्यालेस्टिनी राजनीतिका विज्ञ प्रोफेसर होसम अल-दजानी के विश्वास गर्छन् भने 'न्युयोर्क घोषणापत्र'को धारा ११ मा प्रति सञ्चारमाध्यमको ध्यान बढेको छ।
सम्मेलनपछि जारी घोषणाको धारा ११ मा भनिएको छ, ‘प्यालेस्टिनी भूभागमा शासन, कानुन व्यवस्था र सुरक्षा केवल प्यालेस्टिनी प्राधिकरणको अधीनमा हुनुपर्छ।’
अल-दजानीका अनुसार यस दस्तावेजका बाँकी ४१ धारामध्ये केहीले प्यालेस्टिनी राज्यको स्थापना र इजरायलसँग सह-अस्तित्वका कुरा गर्छन्।
उनी भन्छन्, ‘यसको अर्थ यो घोषणाले प्यालेस्टिनी राज्य स्थापना गर्ने विभिन्न बाटोका विषयमा सुझाव दिन्छ।’
बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘यदि न्युयोर्क घोषणापत्रको बाँकी भाग लागु भयो भने धारा ११ स्वतः लागु भएको मानिनेछ।’
प्यालेस्टिनी राज्य
अमेरिका, बेलायत र अन्य पश्चिमी देशहरूले हमासलाई अतिवादी संगठनका रूपमा प्रतिबन्ध लगाएका छन्।
उनीहरूको भनाइ छ, यदि प्यालेस्टिनी राज्य स्थापना भयो भने यसले आफ्ना हतियार भविष्यको प्यालेस्टिनी प्राधिकरणलाई हस्तान्तरण गर्नेछ।
विश्लेषकहरूका अनुसार हमासले गाजामा आफ्नो नियन्त्रणको ठूलो हिस्सा गुमाएको छ। यसको बाबजुद हमास अझै पनि यस क्षेत्रमा शासन गरिरहेको देखिन्छ।
हालै यस संगठनले 'सहम' नामको सुरक्षा एकाइ गठन गरेको छ जसलाई 'एरो युनिट' पनि भनिन्छ। यसको उद्देश्य नागरिक व्यवस्था कायम राख्नु र गाजामा आउने राहत सामग्रीको लुटपाट रोक्नु हो।
गाजामा प्यालेस्टिनी नागरिकहरूले बारम्बार हमासप्रति आक्रोश व्यक्त गरेका छन् र हमास लडाकुहरूले पनि विरोध प्रदर्शनमा कारबाही गरेका छन्।
गाजामा खाद्यान्न र राहत सामग्री सीमित छन्। राहत एजेन्सी र संयुक्त राष्ट्र संघले गाजामा मानिसहरू भोकमरीले मरिरहेको बताएका छन्।
धेरै विश्लेषक के विश्वास गर्छन् भने हमासका लडाकुहरू अब पूर्ण दबाबमा छन्। २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा उनीहरूले यति कमजोर अवस्थाको कल्पनासमेत गरेका थिएनन्।
इजरायलले लगभग २२ महिना गरेको सैन्य कारबाहीपछि हमासका लडाकुहरू थकित भएका छन्।
गाजाका स्थानीय स्रोतहरूका अनुसार, हमाससँग अझै हतियार छन् तर यसको भण्डार घट्दै गइरहेको छ।
स्रोतहरू भन्छन्, ‘हमासले अब इजरायली बमबारीबाट बचेका सामग्री, विशेष गरी विस्फोट नभएका बमहरूलाई हतियारका रूपमा प्रयोग गरिरहेको छ।’
यस सशस्त्र समूहसँग अब क्षेत्रीय स्तरमा धेरै कम मात्र सहयोगी बाँकी छन्।
इजरायल र इरानबीचको १२ दिने युद्धपछि हमासलाई समर्थन गर्ने इरानको क्षमता पनि सीमित भएको छ।
इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह पनि इजरायलको आक्रमण र आफ्ना नेताहरूको हत्याले कमजोर भएको छ।
अरब लिग
अरब लिगले हमासको नि:शस्त्रीकरणको माग गर्दै 'न्युयोर्क घोषणापत्र'मा हस्ताक्षर गरेको छ।
यस संगठनमा कतारजस्ता देशसहित २२ मुलुक सदस्य छन्, जसलाई हमासको सहयोगी मानिन्छ।
लन्डनस्थित विश्वव्यापी मामिलासम्बन्धी थिंक ट्यांक चथम हाउसका वरिष्ठ सल्लाहकार प्रोफेसर योसी मेकेलबर्ग इजरायल र अमेरिका आफ्नो पहिलेको अडानमा अडिग रहेको विश्वास गर्छन्।
तर अब अरब देशहरूको मनोवृत्ति अब परिवर्तन भएको उनी बताउँछन्। उनी भन्छन्, ‘अरब र क्षेत्रीय शक्तिको बढ्दो दबाबले हमासलाई 'धेरै हदसम्म' छिन्नभिन्न गर्न सक्छ।’
इजरायली बन्धक
हमासले अझै पनि ७ अक्टोबर २०२३ मा अपहरण गरिएका इजरायली बन्धकका जीवितहरूलाई मोलमोलाइको रूपमा प्रयोग गरिरहेको छ।
आक्रमणमा लगभग १ हजार २०० जना मारिएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यसपछि इजरायलले सुरु गरेको हमलामा परी गाजामा अहिलेसम्म ६१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
अमेरिकाको विश्वास छ- यी बन्धकमध्ये कम्तीमा २० जना अझै जीवित छन् भने केहीको मृत्यु भइसकेको छ र केही इजरायल फर्किसकेका छन्।
अगस्टको सुरुमा हमासले बन्धक अविटियार डेभिडको भिडिओ जारी गरेको थियो। जसमा उनी धेरै कमजोर र कुपोषित देखिन्थे।
विश्लेषकहरूका अनुसार उक्त भिडिओले बन्धकका परिवारलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध अन्त्यका लागि दबाब दिने आशा हमासलाई थियो।
भिडिओ सार्वजनिक भएपछि पीडित परिवारले नेतन्याहुलाई बन्धकहरूको रिहाइलाई प्राथमिकता दिन अपिल गर्यो।
२०२३ अक्टोबर ७ यता हमासले भोगेको क्षति
२०२३ अक्टोबर मा हमासले हमला गरेपछि जवाफी कारबाही सुरु गरेको इजरायलले हमासका धेरै जना शीर्ष नेताहरूलाई मारेको छ। मारिएकामा संगठनका प्रमुख इस्माइल हानियासमेत छन्। उनी इरानी राजधानीमा भएको आक्रमणमा मारिएका थिए।
अक्टोबर ७ को आक्रमणको योजना बनाउने मुख्य व्यक्ति मानिने याह्या सिनवार पनि मारिए।
प्रोफेसर मेकेलबर्गका अनुसार गाजाभित्र र बाहिर रहेका हमास नेताहरूको हित फरक छ।
मेकेलबर्ग भन्छन्, ‘शारीरिक रूपमा जीवित रहने प्राथमिकताभन्दा अगाडि उनीहरू राजनीतिक प्रासंगिकता कायम राख्न प्रयास गरिरहेका छन्, किनभने सम्झौतामा पुग्न अझै पनि उनीहरूलाई समर्थन छ।’
तर संगठनको प्रासंगिकता कायम राख्न, यसका बाँकी नेताहरूले कडा निर्णय लिनुपर्नेछ।
हमासको भविष्य
इजरायलका प्रधानमन्त्री नेतन्याहुले यही अगस्ट ७ बिहीबारका दिन गाजामा 'पूर्ण नियन्त्रण' स्थापित गर्ने र 'हमास हटाउने' घोषणा गरेपछि हमासका विकल्प दिनप्रतिदिन सीमित हुँदै गइरहेका छन्।
अब प्रश्न के हो भने यो युद्धमा हमास गाजामा बच्न सक्ला?
प्यालेस्टिनी राज्य स्थापना भयो भने मात्र हमासले हतियार त्याग्नेछ।
तर इजरायलले आफ्नो अडान परिवर्तन नगरेसम्म प्यालेस्टिनी राज्य स्थापना असम्भव देखिन्छ। तर पनि हमासको अस्तित्व पूर्ण रूपमा समाप्त हुनेछ भन्ने छैन।
चथम हाउसका योसी मेकेलबर्गको अनुमान छ, ‘हमासले भविष्यमा आफूलाई पुन: नयाँ रूपमा ढाल्ने गर्ने प्रयास गर्न सक्छ र प्यालेस्टिनी राजनीतिको हिस्सा बनिरहन सक्छ।’
यो परिवर्तन प्यालेस्टिनी क्षेत्रभित्रबाट हुन सक्छ साथै बाहिरबाट पनि।
यसका धेरैजसो कुरा प्यालेस्टिनी राज्यमा इजरायलको अडान कस्तो छ भन्नेमा निर्भर गर्छ।
साथै गाजावासीले सामना गरिरहेको अत्यन्तै कठिन परिस्थितिमा हमासले जनतामाझ कति समर्थन पाइरहेको भन्ने कुरामा पनि यो निर्भर हुन्छ। बीबीसी हिन्दीबाट
Shares

प्रतिक्रिया