कारोबार


ईभीको लहरले खर्लप्पै छोप्यो, तर तीन युवा व्यवसायी भन्छन्– यो इभोलुसन मात्रै हो (भिडिओ)

ईभीको लहरले खर्लप्पै छोप्यो, तर तीन युवा व्यवसायी भन्छन्– यो इभोलुसन मात्रै हो (भिडिओ)

नेपालखबर संवादमा दायाँबाट क्रमशः सूर्यांश वैद्य, सहायु गोयल, साहिल श्रेष्ठ र कुबेर चालिसे


कुबेर चालिसे
साउन २३, २०८२ शुक्रबार २२:३९, काठमाडौँ

नेपाललाई पछिल्ला वर्षहरूमा जसरी विद्युतीय सवारी साधन (ईभी)को लहरले खर्लप्पै छोप्यो, त्यसैको सेरोफेरोमा ईभीका तीन युवा व्यवसायी भन्छन्, नेपालमा ईभीको हाल भएको विकास तथा विस्तार रेभोलुसन होइन, इभोलुसन हो। 

नेपालको ईभीको भविष्यका पोस्टरब्वइ मान्न सकिने वैद्यज् अर्गनाइजेसनका निर्देशक सूर्यांश वैद्य, नेबुला इनर्जीका प्रबन्ध निर्देशक सहायु गोयल तथा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको विचारमा नेपालमा ईभीको विस्तारको सम्भावना उच्च भए पनि स्पष्ट र दीर्घकालीन नीति, चार्जिङ पूर्वाधारको विकास, सार्वजनिक यातायातमा ईभीको प्रवर्द्धन र जनचेतना तथा विश्वासको कमीका कारण अझै सोचेझैँ सहज विस्तार हुन सकेको छैन। 

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को छेकोमा नेपालखबर भिडिओ संवादमा शुक्रबार कुरा गर्दै उनीहरूले निजी क्षेत्रले आफ्नै लगानीमा चार्जिङ पूर्वाधार बनाउने तथा उपभोक्ताको विश्वास जित्ने कोसिस गरिरहेको पनि बताए। 

‘सरकारले केही नगरेको भने होइन तर अस्थिर नीति अनि नियत र इच्छाशक्तिमा समस्या भएका कारण यो क्षेत्रले गर्न सक्ने विस्तार बिस्तारै मात्र हुँदैछ,’ उनीहरू भन्छन्।

तर, नेपालमा विद्युतीय सवारी साधनको विकास तथा विस्तारमा केही महत्त्वपूर्ण समस्या र चुनौतीहरू छन्, जसले गर्दा यो क्षेत्रले अपेक्षित गति लिन नसकेको साइमेक्सका सीईओ श्रेष्ठको भनाइ छ। साइमेक्स इंकले नेपालमा बीवाईडीका गाडी आयात तथा बिक्री गर्दछ।  

सरकारले कहिले कर छुट दिने, कहिले कर बढाउने जस्ता अस्थिर नीति लिएका कारण लगानीकर्तामा अन्योल आउने उनको भनाइ छ। 

यस्तै, पर्याप्त चार्जिङ स्टेसनहरू नहुनु अर्को समस्या हो। हुन त पछिल्ला वर्षहरूमा सरकारले चार्जिङ स्टेसनमा सहुलियत दिएका कारण सहज बन्दै गएको छ। यसका साथै, ईभी ब्याट्रीको पुनः प्रयोग (व्यवस्थापन) संसारभरि नै समस्याको रूपमा देखा परेको छ। जसको अल्पकालीन समाधानका रूपमा नेबुला इनर्जी अन्तर्गतको गोगोरोले ब्याट्री स्वापको प्रचलन सुरु गरेको नेबुलाका प्रबन्ध निर्देशक सहायु गोयल बताउँछन्। 

वैद्यज् अर्गनाइजेसनका निर्देशक सूर्यांश वैद्य

सवारीसाधनमा प्रयोग गरिसकेपछि आयु सकिन लागेका ब्याट्रीको अन्य प्रयोगको बारेमा पनि गोगोरोले नयाँ उपायहरू अवलम्बन गर्ने तयारी गरिरहेको गोयल बताउँछन्। 

यस्तै, पुनर्बिक्री बजारको अभावका कारणले पनि विद्युतीय सवारी साधनमा आकर्षण बढ्न नसकेको उनको विचार छ। 

‘विद्युतीय सवारी साधनको प्राविधिक ज्ञान र जनशक्ति अभाव छ,’ उनी भन्छन्। 

नेबुला इनर्जीका प्रबन्ध निर्देशक सहायु गोयल

पुनर्बिक्री बजारको अभाव तथा विद्युतीय सवारी साधनको प्राविधिक ज्ञान र जनशक्ति अभावका कारण मात्र नभएर दुई पाङ्ग्रे सवारी साधनमा बैंक तथा वित्तीय संस्थाबाट गरिने वित्तीय लगानीका असहजताका कारण पनि बजार विस्तारमा समस्या रहेको वैद्यज् अर्गनाइजेसनका निर्देशक सूर्यांश वैद्य बताउँछन्। 

‘चार पाङ्ग्रे विद्युतीय सवारी साधनभन्दा दुई पाङ्ग्रे विद्युतीय सवारी साधनमा वित्तीय लगानी अलि बढी अनुदार तथा झञ्झटिलो भएका कारण पनि दुई पाङ्ग्रे विद्युतीय सवारी साधनमा आकर्षण बढ्न सकेन,’ उनी भन्छन्। 

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ

कुल दुई पाङ्ग्रे सवारी साधनमा विद्युतीय दुई पाङग्रे सवारी साधन करिब ३ देखि ४ प्रतिशत मात्र हुनुको कारण खोल्दै वैद्य भन्छन्, ‘वास्तवमा दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको बजार चार पाङ्ग्रे विद्युतीय सवारी साधन जस्तो विस्तार हुन नसक्नुमा वित्तीय मध्यस्थताको असहजता नै हो।’

भिडिओ :

नेपालमा कुल सवारी साधनमध्ये करिब ८० प्रतिशत बजार हिस्सा दुई पाङ्ग्रे सवारी साधनले ओगट्छ। तर, पछिल्ला वर्षहरूमा चार पाङ्ग्रे सवारी साधनको बजारमा विद्युतीय चार पाङ्ग्रे सवारी साधनले राम्रो विस्तार गर्दा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको हिस्सा उल्लेख्य छैन।

वैद्यज् अर्गनाइजेसन अन्तर्गतको वैद्य इनर्जीले नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी साधन एथर स्कुटर ल्याएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad