कारोबार


पेट्रोलियम माइक्रो भर्सेस ईभी माइक्रो: कसले कति वर्षमा उठाउँछ लगानी?

तथ्यांक भन्छ, ईभीले ५ वर्षमा लगानी उठाउँदा इन्धनलाई १३ वर्ष लाग्छ
पेट्रोलियम माइक्रो भर्सेस ईभी माइक्रो: कसले कति वर्षमा उठाउँछ लगानी?

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १६:५२, काठमाडौँ

पेट्रोलियमबाट चल्ने सवारीसाधन राम्रो कि ब्याट्रीबाट अर्थात् विद्युतीय सवारीसाधन राम्रो र किफायती? मानव स्वास्थ्यका दृष्टिकोणबाट भन्ने हो भने ईभी गाडी नै स्वस्थ्यकर र किफायती छ। तर गाडीको क्षमता, अवस्था, भूगोल अर्थात् रोडको अवस्था, आम्दानी र खर्चको हिसाबकिताब गर्दाचाहिँ कुन गाडी उत्तम त?

हो, यो प्रश्न धेरै सेवाग्राहीको मात्रै होइन, व्यवसायीको पनि आम सवाल हो। आखिर कुन सस्तो वा किफायती छ त? अनि गरेको लगानी कति वर्षमा उठ्न सम्भव छ त? मासिक वा वार्षिक खर्च कति हुन्छ त?

आज हामी यी सवालहरुको मिहिन ढङ्गबाट जवाफ खोज्दै छौँ। 

पहिले एउटा १६ सिट भएको डिजेलबाट चल्ने माइक्रोको हिसाब गरौँ 
अहिले नेपालमा पेट्रोलियमबाट चल्ने सवारीसाधन भित्राउँदा औसतमा २ सय ८० प्रतिशत कर लाग्छ। यही करका कारण पेट्रोलियमबाट चल्ने सवारीसाधनको मूल्य अत्यधिक महङ्गो हुने गरेको छ। 

नेपाली बजारमा १६ वा १७ सिटको डिजेलबाट चल्ने माइक्रोको मूल्य ९० देखि ९५ लाख रुपैयाँ पर्छ। यो माइक्रोमा १७ सिट हुन्छ। अर्थात् एक स्थानबाट अर्को स्थानसम्म यात्रु लैजान एक पटकमा अधिकतम १६ जना प्यासेन्जर लैजान सक्छ भने एक जना चालक गरी कुल १७ जना यात्रु रहने क्षमता हुन्छ। 

काठमाडौं–चितवन–काठमाडौैंमा पेट्रोलियम माइक्रोको खर्च
यदि अहिले काठमाडौं–चितवन–काठमाडौं गर्ने एउटा पेट्रोलियम माइक्रोको उदाहरण दिने हो भने कति किलोमिटर गुड्दा कति मूल्यको पेट्रोलियम खपत गर्छ र मासिक कति गुड्दा मर्मत खर्चमा कति खर्च हुन्छ भन्ने विश्लेषण गरौँ।

काठमाडौं देखि चितवनको भरतपुरसम्म जानका लागि औसतमा १५० किलोमिटरको दुरी पार गर्नुपर्छ। सामान्य अवस्थामा काठमाडौंदेखि चितवनको भरतपुर जान ४ घण्टा ३० मिनेटको समय लाग्छ। अनि काठमाडौंदेखि चितवन जानका लागि १५० किलोमिटर यात्रा गर्नका लागि पेट्रोलियमबाट चल्ने गाडीले औसतमा प्रतिलिटर ९ किलोमिटर माइलेज दिएको अवस्थामा १७ लिटर पेट्रोलियमको खपत गर्छ।
 
अहिले डिजेलको मूल्य औसतमा १५० रुपैयाँ प्रतिलिटर रहेको छ। यसरी हेर्दा एकतर्फीरुपमा काठमाडौंबाट चितवन जाने हो भने पेट्रोलियमबाट चल्ने माइक्रोमा २ हजार ५५० रुपैयाँको पेट्रोलियम खपत हुन्छ।
 
त्यसै गरी चितवनमै खाना खाने र एक दुई घण्टा आराम गरेर पुनः काठमाडौं फर्कने आउँदा अझै बढी पेट्रोलियमको खर्च हुन्छ। चितवनबाट काठमाडौंतर्फ उकालो बाटो समेत पर्ने भएकाले औसत १८ लिटर डिजेल खपत हुने गर्छ। १८ लिटर डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँका दरले हिसाब गर्दा २ हजार ७ सय रुपैयाँ हुन्छ। यसरी काठमाडौं चितवन काठमाडौं गर्दा एक दिनमा पेट्रोलियम मात्रै ५ हजार २ सय ५० रुपैयाँको खपत गर्छ।

एउटा माइक्रोले सामान्य अवस्थामा सजिलै काठमाडौं–चितवन–काठमाडौंको यात्रा गर्न सक्छ र त्यसका लागि उसले एक दिनमा ५ हजार २ सय ५० रुपैयाँको पेट्रोलियम खपत गर्छ। 

एउटा कमर्सियल माइक्रो महिनामा औसतमा २६ दिन गुड्न सक्छ भन्ने अनुमान गरौँ। किनभने सातामा एक दिन छुट्टीमा बस्न सक्ने भएकाले मासिक २६ दिनको हिसाब गरी महिनाको हिसाब गर्दा मासिक १ लाख ३६ हजार ५ सय रुपैयाँको पेट्रोलियम खपत गर्छ। 

त्यसै गरी १२ महिना अर्थात् एक वर्षको हिसाब निकाल्दा पेट्रोलियमबाट चल्ने माइक्रोले एक वर्षमा १६ लाख ३८ हजार सय रुपैयाँको त डिजेल मात्रै खपत गर्छ। 
त्यसबाहेक पेट्रोलियमबाट चल्ने गाडीले दैनिक ३ सय किलोमिटर र मासिक ७ हजार ८ सय किलोमिटर गुड्दा मर्मत खर्चमा पनि उत्तिकै खर्च हुन्छ। 

सर्भिसिङमै औसत मासिक १६ हजार रुपैयाँको खर्च
पेट्रोलियमबाट चल्ने माइक्रो प्रत्येक ५ हजार किलोमिटरमा फूल सर्भिसिङ गर्नुपर्ने हुन्छ। एक पटक फूल सर्भिसिङ गर्दा १० देखि १५ हजार रुपैयाँ खर्च हुन्छ। किनभने एक पटक फूल सर्भिसिङ गर्दा मोबिल, मोबिल फिल्टर, डिजेल फिल्टर लगायतका सामानहरु फेर्नुपर्छ भने अन्य जनरल चेकअप समेत गर्दा १० देखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ।

अब एक महिनामा ७ हजार ८ सय किलोमिटर गुड्यो भने महिना दिन नपुग्दै सर्भिसिङ गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा प्रत्येक दुई महिनामा तीन पटक सर्भिसिङ गर्दा औसतमा ३५ हजार रुपैयाँ खर्च हुन्छ। १२ महिना अर्थात् एक वर्षमा १८ पटक सर्भिसिङ गर्नु परेमा सर्भिसिङका लागि मात्रै २ लाख १० हजार रुपैयाँ खर्च हुन्छ। 

अब पेट्रोलियमबाट चल्ने गाडीले एक वर्षभरिमा पूर्ण क्षमतामा काम गर्दा पेट्रोलियम र मोबिल तथा सर्भिसिङ लगायतका सबै काममा खर्च गर्दा वार्षिक १८ लाख ४८ हजारको खर्च हुन्छ। 

अब कुरा गरौँ ईभी अर्थात् विद्युतीय माइक्रोको 
अहिले नेपाली बजारमा १६, १४ र ११ सिट भएको ईभी माइक्रो र भ्यान उपलब्ध छन्। अहिले नेपाली बजारमा १४ सिट क्षमता भएको ईभी माइक्रोको मूल्य ५४ लाख रुपैयाँ रहेको छ भने १६ सिट भएको माइक्रोको मूल्य ७० लाखको हाराहारीमा छ।

खरिद मूल्यमा फरक भएजस्तै यी माइक्रोहरुको यात्रु सङ्ख्यामा पनि २ जनाको थपघट छ। त्यसै गरी ब्याट्रीको क्षमतामा पनि फरक हुन्छ। 
अहिले नेपालमै धेरै चलेका १६ सिट क्षमताकै मिनीबस वा माइक्रो बससँग तुलना गरेर हिसाब निकालौँ। 

३ सय किलोमिटर यात्रा गर्न कति विद्युत् खपत गर्छ?
अहिले नेपालमा चलिरहेका ईभी माइक्रो वा मिनिबसले पनि एक पटक फूल चार्ज गर्दा ३ सय किलोमिटर रेञ्च दिने दाबी गर्ने गरिएको छ। यद्यपि बाटोको अवस्था अनुसार यो फरक पर्न सक्छ। 

अघि उदाहरण दिएको जस्तै एउटा ईभी माइक्रोले काठमाडौं–चितवन–काठमाडौं यात्रा गर्दा वास्तवमा कति विद्युत् खपत गर्छ र कति खर्च निस्कन्छ भन्ने हिसाब निकालौँ। 

काठमाडौं–चितवन–काठमाडौं यात्रा गर्न कति प्रतिशत विद्युत् खपत हुन्छ?
यदि ईभी माइक्रोमा काठमाडौंबाट चितवन जाने हो भने करिब ४० प्रतिशत चार्ज घटेर नै पुग्न सक्छ। किनभने ईभी गाडीमा ओरालो बाटोमा आफैँ चार्जसमेत हुने भएकाले थानकोटबाट नौबिसेसम्म पुग्दा ओरालो बाटोमा करिब ८ प्रतिशत चार्ज बढ्छ। उदाहरणका लागि थानकोट पुग्दा गाडी ८० प्रतिशत चार्जमा छ भने नौबिसे पुग्दा सामान्यतः ८७ देखि ८८ प्रतिशत चार्ज पुग्ने गर्छ। 

तर नौबिसेबाट पृथ्वी राजमार्गमा प्रवेश गरेपछि भने चार्ज बढ्दैन। 
सामान्यतः काठमाडौंबाट चितवन पुग्दा माइक्रोमा ४० प्रतिशत चार्ज घट्ने गर्छ। ४० प्रतिशत चार्ज घट्ने भनेको औसतमा १३ युनिट विद्युत् खपत गर्ने हो जसको अधिकतम चार्जिङ शुल्क १० रुपैयाँ प्रति एक प्रतिशत मूल्य राखेमा ४ सय रुपैयाँको विद्युत् खपत गर्छ। किनभने राजमार्गमा चार्ज गर्दा प्रति प्रतिशत १० रुपैयाँ लिने गरिएको छ। 

अब चितवनबाट काठमाडौं आउँदाको विद्युत् खपतको हिसाब निकालौँ। चितवनबाट काठमाडौं आउन पनि १ सय ५० किलोमिटर नै दुरी रहेको भए पनि उकालो बाटो भएकाले ७० प्रतिशतसम्म विद्युत् खपत गर्न सक्छ। ७० प्रतिशत विद्युत् खपत गर्दा राजमार्गमै चार्जिङ गर्ने गरी मूल्य निर्धारण गर्ने हो भने ७ सय रुपैयाँको विद्युत् खपत गर्न सक्छ। 

यसरी काठमाडौं–चितवन–काठमाडौं यात्रा गर्दा ईभी माइक्रोले अधिकतम मूल्यमै चार्जिङ स्टेसनमा फास्ट चार्जिङबाट चार्ज गरेको अवस्थामा पनि अधिकतम १ हजार १ सय रुपैयाँमा दुईतर्फी विद्युतको खर्च पूरा हुन्छ। 

कति पर्छ चार्जिङको शुल्क?
अहिले नेपालमा बढी चलेको १४ सिट क्षमताको ईभी माइक्रोको २० प्रतिशतबाट १ सय प्रतिशत चार्ज गर्ने हो ४० वाटको फास्ट चार्जरबाट चार्ज गर्दा करिब एक घण्टाको समय लाग्छ। यसरी २० प्रतिशतबाट फूल चार्जमा लैजाँदा करिब २५ युनिट विद्युत् खपत गर्छ। फास्ट चार्जरबाट चार्ज गर्दा प्रति एक प्रतिशतका दरले शुल्क तिर्ने गरेका छन्।

काठमाडौं लगायतका सहरी क्षेत्रमा फस्ट चार्जरबाट ब्याट्री चार्ज गराउँदा प्रति प्रतिशत ७ रुपैयाँ लिने गरेका छन्। यसरी हेर्दा यदि माइक्रोको ब्याट्री २० प्रतिशत मात्रै छ र फास्ट चार्जरबाट फुल चार्ज गराउने हो भने ८० प्रतिशतको चार्ज बढाउन ८० प्रतिशतका ७ रुपैयाँका दरले अर्थात् ५६० रुपैयाँ खर्च लाग्छ। 

यदि कसैले स्लो चार्जिङबाट रातको समयमा वा रातभर चार्ज गराउने हो भने प्रति युनिट १५ रुपैयाँमै चार्ज गराउन सक्छन्। एक युनिट विद्युत्ले सामान्यतः ३ प्रतिशत चार्ज बढ्न हुन्छ। यो भनेको प्रति प्रतिशत ५ रुपैयाँ पर्छ। 

यसरी यदि पेट्रोलियम गाडी चलाएर काठमाडौं–चितवन–काठमाडौं गर्ने हो भने पेट्रोलियम माइक्रोले दैनिक ५ हजार ४ सय रुपैयाँको पेट्रोलियम खपत गर्दा ईभी माइक्रोले केवल १ हजार १ सय रुपैयाँमै आफ्नो खर्च पूरा गर्छ। 

ईभीको वार्षिक मर्मत खर्च कति पर्छ?
ईभी गाडीमा गियर, क्लज लगायतका उपकरण नहुने भएकाले यसको मर्मत खर्च अत्यन्तै न्यून रहेको छ। प्रत्येक दुई महिनामा एक पटक ईभी गाडीको सर्भिसिङ गराउने हो भने पनि एक पटकको सर्भिसिङ शुल्क करिब २ हजार ५ सय रुपैयाँमै हुन्छ। ईभी माइक्रोहरुको पहिलो सर्भिसिङ २ हजार ५ सय किलोमिटरमा गराइन्छ भने त्यसपछि दोस्रो सर्भिसिङ १० हजार किलोमिटरमा गराइन्छ। दोस्रो सर्भिसिङमा कबिर ९ हजार रुपैयाँ खर्च हुन्छ। 

तेस्रो सर्भिसिङदेखि प्रत्येक ६ हजार ५ सय किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने हुन्छ र प्रत्येक सर्भिसिङमा १० हजार रुपैयाँ बराबरको खर्च हुने ईभी व्यवसायी अनिल श्रेष्ठले बताए। यसो गर्दा औसतमा वार्षिक १५ पटक सर्भिसिङ गर्नुपर्दा १ लाख ५० हजारको हाराहारीमा सर्भिसिङमा खर्च हुन्छ। 

पेट्रोलियम गाडीले वार्षिक कति कमाउँछन्?
पेट्रोलियम गाडीले वार्षिक कति कमाउँछन् भनेर हिसाब गर्दा गाडीमा कति जना यात्रु छन् भन्ने कुरा पनि हुन्छ। अहिले काठमाडौं–चितवन–काठमाडौंकै कुरा गरौँ। 

काठमाडौंबाट चितवन जानका लागि औसत भाडा ६ सय रुपैयाँ रहेको छ। एउटा पेट्रोलियम गाडीमा १६ सिट हुँदा र पूरै सिट फूल हुँदा ९ हजार ६ सय रुपैयाँ कमाउन सक्छन्। तर उक्त रकमबाट प्रति प्यासेन्जर ५० रुपैयाँ यातायात मजदुरका नाममा जान्छ। त्यसपछि प्रति प्यासेन्जर ५ सय ५० रुपैयाँका दरले भाडा आउँदा १६ जना यात्रुबाट ८ हजार ८ सय रुपैयाँ प्राप्त हुन्छ। 

अब चितवनबाट फर्कँदा पनि पूरै सिटमा यात्रु छन् भनेर बुझ्दा ८ हजार ८ सय रुपैयाँ नै प्राप्त हुँदा दुईतर्फीका भाडा गरी दैनिक १७ हजार ६ सय रुपैयाँ कमाई हुन्छ। तर यसमा दैनिक ५ हजार ४ सय रुपैयाँको पेट्रोलियम खर्च घटाउनुपर्‍यो। त्यसो गर्दा दैनिक १२ हजार २ सय रुपैयाँ बाँकी रहन्छ। अब यसमा चालकलाई दैनिक भत्ता ८ सय रुपैयाँका दरले दिने हो भने दैनिक ११ हजार ४ सय रुपैयाँ गाडी धनीको हातमा पर्छ। 

यसलाई २६ दिनलाई महिना मानेर हिसाब गर्दा मासिक २ लाख ९६ हजार ४ सय रुपैयाँ कमाई हुन्छ। तर यसमा चालकलाई दिने मासिक तलबको पनि हिसाब गर्नुपर्ने हुन्छ। चालकलाई भत्ताबाहेक मासिक ३० हजार रुपैयाँ तलब दिने हो भने मासिक २ लाख ६६ हजार ४ सय रुपैयाँ धनीको हातमा पर्छ। 

अब १२ महिना अर्थात् १ वर्षको कमाई हिसाब गर्दा ३१ लाख ९६ हजार ८ सय रुपैयाँ कमाई हुन सक्छ। तर यसमा वार्षिक सर्भिसिङ शुल्कबापत २ लाख १० हजार रुपैयाँ घटाऊँ। यसो गर्दा वार्षिक २९ लाख ८६ हजार ८ सय रुपैयाँ हुन आउँछ। 

उक्त रकममा पनि इन्सुरेन्स वार्षिक औसतमा ९० हजार रुपैयाँ, रोड ट्याक्स करिब ३० हजार रुपैयाँ घटाऊँ। यसो गर्दा वार्षिक २८ लाख ६६ हजार ८ सय रुपैयाँ कमाई हुन्छ। 
उक्त रकमबाट पनि टायर लगायत फेर्नुपर्ने सामान, सामान्य दुर्घटना लगायतका खर्चमा वार्षिक एक लाख ६६ हजार ८ सय रुपैयाँ कायम गरौँ। यसो गर्दा एउटा पेट्रोलियमबाट चल्ने माइक्रो बसले वार्षिक २७ लाख रुपैयाँ कमाउन सक्छ। 

यो रकममा पनि मासिक एक लाखका दरले वार्षिक १२ लाख रुपैयाँ घर खर्चमा छुट्टायौँ भने वार्षिक १५ लाख रुपैयाँ बचत हुन्छ। 

ईभीले कति कमाउँछ कति बचाउँछ?
अब यही रुटमा चल्ने ईभी माइक्रोको आम्दानी र खर्च निकालौँ। 

१४ सिट भएको माइक्रोको भाडा पनि काठमाडौंबाट चितवन जान लाग्ने भनेको ६ सय रुपैयाँ नै हो। त्यसमा यातायात मजदुरले लिने ५० रुपैयाँ घटाउँदा ५५० रुपैयाँ प्रति यात्रु गाडीले पाउँछन्। यसरी हेर्दा एकतर्फी भाडा ७ हजार ७ सय रुपैयाँ पाउँछन् भने दुईतर्फीको भाडा १५ हजार ४ सय रुपैयाँ हुन्छ। अब यसमा दैनिक विद्युत् खपत १ हजार १ सय रुपैयाँ घटाऊँ। यसो गर्दा दैनिक १४ हजार ३ सय रुपैयाँ हुन जान्छ।

अब यसमा चालकलाई दैनिक भत्ता ८ सय रुपैयाँ राखौँ। यसो गर्दा गाडी धनीले दैनिक १३ हजार ५ सय रुपैयाँ प्राप्त गर्छन्। 

मासिक २६ दिन मान्दा ३ लाख ५१ हजार रुपैयाँ मासिक आम्दानी सम्भव छ। त्यसमा चालकको तलब ३० हजार रुपैयाँ घटाउँदा मासिक ३ लाख २१ हजार रुपैयाँ कमाउन सकिन्छ। अब यसलाई वार्षिक रुपमा हिसाब गर्दा ३८ लाख ५२ हजार रुपैयाँ कमाउन सकिन्छ। 

यसमा सर्भिसिङ शुल्क भनेर औसतमा वार्षिक १ लाख ५० हजार रुपैयाँ घटाउँदा वार्षिक ३७ लाख २ हजार रुपैयाँ आम्दानी सम्भव छ।

अब यो आम्दानीमा पनि वार्षिक इन्सुरेन्स र सडक दस्तुरको १ लाख ३० हजार रुपैयाँ घटाऊँ। यसो गर्दा वार्षिक ३५ लाख ७२ हजार रुपैयाँ आम्दानी हुन्छ। 

उक्त रकममा पनि टायर फेर्नुपर्ने र अन्य सामान्य दुर्घटना तथा मर्मतका लागि वार्षिक १ लाख ७२ हजार खर्च राखौँ। त्यसो गर्दा पनि वार्षिक ३४ लाख रुपैयाँ आम्दानी सम्भव छ। 
अब तपाईँको घर खर्चका लागि मासिक एक लाख रुपैयाँ राखौँ। त्यसो गर्दा वार्षिक १२ लाख रुपैयाँ तपाइँको घर खर्चमा जान्छ। बाँकी २२ लाख रुपैयाँ तपाईँको बचत हुन सक्छ।

अब लगानी र लगानी फिर्ताको हिसाब निकालौँ 
अब तपाईँले ९० लाख पर्ने गाडी ४० प्रतिशत डाउन पेमेन्टमा किन्नुभयो भने सुरुमा ३६ लाख तिर्नुपर्छ र ५४ लाख रुपैयाँ बाँकी रहन्छ। १० प्रतिशत ब्याजमा बैंकबाट ५४ लाख ऋणमा गाडी झिक्नुभयो भने तपाईँले मासिक ७१ हजार ५ सय रुपैयाँ तिरेर १० वर्षमा उक्त गाडी आफ्नो बनाउन सक्नुहुन्छ। 

यता ५४ लाख पर्ने ईभी गाडी लिनुभयो भने र त्यसमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्दा तपाईँले सुरुमा २१ लाख ६० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ। बाँकी रहेको ३२ लाख ४० हजार रुपैयाँ ऋण लिँदा तपाईँको आम्दानीको अनुपात हेर्दा कति वर्षमा गाडी आफ्नो बनाउन सकिन्छ त?

यसलाई हिसाब गर्दा तपाईँको सबै खर्च कटाएर वार्षिक २२ लाख बचत भनेको मासिक १ लाख ८३ हजार रुपैयाँ बचत हो। अब तपाईँले लिनुभएको ऋणको सावाँ र किस्ता तिर्ने हो भने पेट्रोलियमको गाडीभन्दा खर्च कम भएको कारण तपाईँले बढी किस्ता तिर्न सक्नुहुन्छ। 

तर तपाईँले पेट्रोलियमको गाडी जत्तिनै मासिक किस्ता तिर्नुभयो अर्थात् मासिक ७१ हजार ५ सय रुपैयाँ तिर्नुभयो भने ४ वर्ष ९ महिनामा तपाईँको ऋण पूरा हुन्छ र गाडी आफ्नो हुन्छ। तर तपाईँको बचत अझै बढी हुने भएकाले तपाईँले मासिक १ लाख रुपैयाँ किस्ता तिर्नुभयो भने ३ वर्ष २ महिनामै उक्त गाडीको तपाईँको नाममा आउन सक्छ। 

यसरी हेर्दा उस्तै प्रकृतिको पेट्रोलियमबाट चल्ने गाडी र विद्युतबाट चल्ने गाडी वा माइक्रोको मासिक आम्दानी, खर्च, बचत हेर्दा तपाईँले ईभी गाडीमा गरेको कुल लगानी कम्तीमा ५ वर्षमा उठाउन सक्नुहुन्छ भने पेट्रोलियम गाडीमा गरेको लगानी उठाउन कम्तीमा १३ वर्ष लाग्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad