निम्बस ग्रुपका प्रबन्धनिर्देशक आनन्द बगारियाले नेपालमा सम्भावना छैन भन्ने भाषा स्थापित हुनुमा बसाइँसराइ कारण बनेको बताएका छन्। नेपालखबर राइजिङ नेपाल समिट २०२५ मा आफ्नो धारणा राख्दै उनले भने, 'नेपालमा सम्भावना छैन भन्ने भाष्य बसाइँसराइले गर्दा आयो। समस्या आफैँमा अवसर पनि हो। विदेशी मुद्रा सञ्चिति बढेको छ। सस्तो होइन राम्रो सोचाइ लिनुपर्छ।'
उनले कृषि क्षेत्र विकासमा प्रशोधनलाई ध्यान नदिँदा समस्या भएको पनि उनको भनाइ छ। 'कृषि क्षेत्रको बारेमा भन्नुपर्दा हामी प्रशोधनमा ध्यान दिँदैनौँ। कुल उत्पादनलाई कसरी प्रस्तुत गरिरहेका छोँ कहीँ न कहीँ तालमेल मिलेको छैन,' उनले भने, 'बजेट राम्रै जान्छ। गहुँ, मकै र धानमा साँच्चै धेरै उत्पादन गरिरहेको हो भने लागतमा केही कुरा मिलिरहेको छैन।'
कृषि क्षेत्रमा नीतिगत परिवर्तन नै नभएको उनको भनाइ छ। 'कृषि क्षेत्रमा नीतिगत परिवर्तन नै भएन। हामी अवधारणागत दुविधामा छौँ। किसानलाई आउटपुट बेसमा सघाउनुपर्छ,' उनले भने, 'सरकारी क्षेत्रबाट कृपिलाई कसरी हेर्ने? जीवनयापन गर्नेलाई हेरेको कि आयात प्रतिस्थापनलाई पनि चाहेको स्पष्ट भएन।'
कृषिमा धेरै संयन्त्रको तालमेल मिलाउनै बाँकी रहेको उनको भनाइ छ।
'कृषिमा धेरै संयन्त्रको तालमेल मिलाउनुपर्छ। बजेट दिएका छौँ। १३-१४ खर्बको कृषि जीडीपी छ। हाम्रा खेत बाँझो भए भन्ने अनि उता छिमेकी देशमा त्यही कामका लागि जानेक्रम बढिरहेको छ,' उनले भने, 'कृषिमा निजी क्षेत्रको लगानी छैन। पोल्ट्रीमा छ। कृषिलाई उकास्न माथिबाट तान्ने कि तलबाट धकेल्ने छान्नुपर्छ। कुन बाली कहाँ लगाउने छुट्याएर खेती गर्नुपर्छ। बजेटको बेलामा हामीलाई सुझाव मागिएको थियो। १५ वर्षदेखि सुझाव दिएकै छौँ। औपचारिकता सरकारले पूरा गर्यो। अब उल्टो रुट जाने कि नजाने निर्णय गर्नुपर्छ।'
उनले सरकारले बाटो नबदेसम्म काम नहुने पनि बताए। 'सरकारले मार्ग बदल्नुपर्छ। कृषिको हकमा एकचोटि अर्को साइडबाट हेर्नुपर्छ। निर्यातभन्दा मूल्यअभिवृद्धि, कर सहुलियतमा ध्यान दिऔँ। निजी क्षेत्रले डिरेक्सन पाउनेछ' उनले भने।
Shares

प्रतिक्रिया