कारोबार


अदानी ग्रुपका शिशिरले सुनाए भारतको आर्थिक सफलताको कथा, नेपाललाई दिए ५ सुझाव

अदानी ग्रुपका शिशिरले सुनाए भारतको आर्थिक सफलताको कथा, नेपाललाई दिए ५ सुझाव

नेपालखबर
साउन ५, २०८२ सोमबार १९:३१, काठमाडौँ

नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्यमा नेपाल–भारत आर्थिक मञ्च स्थापनाले भारतको आर्थिक उत्थानसँग नेपालको रणनीतिक संलग्नता झल्काउन सक्ने अदानी समूहअन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसनका अध्यक्षले आवश्यकता औँल्याएका छन्।

आइतबार काठमाडौँमा आयोजित आइडा डिस्टिंगुइस्ड लेक्चरको तेस्रो संस्करणमा सम्बोधन गर्दै सीआरएफका अध्यक्ष तथा अदानी ग्रुपका विश्व सम्बन्धका प्रमुख एवं विश्व व्यापार सङ्गठनका पूर्वनिर्देशक शिशिर प्रियदर्शीले नेपालको आर्थिक समन्वय बढाउन र भारतीय वृद्धिको फाइदा लिनका लागि पाँच प्रमुख सिफारिसहरू प्रस्तुत गरे।

उनले नेपाल–भारत आर्थिक मञ्च स्थापना गरेर नियमित संवाद, व्यापार सहजता, र नीतिगत समन्वयलाई प्रवद्र्धन गर्न आग्रह गरे। त्यस्तै, उनले दुई देशबीचको द्विपक्षीय सहकार्यका लागि सहज अवसरहरुबाट लाभ लिन व्यापार प्रक्रिया सरल बनाउने, अवस्थित पूर्वाधार उपयोग गर्ने जस्ता कार्यहरू शीघ्र कार्यान्वयन गर्न पनि सुझाव दिए।

‘नेपालले सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र विकास गर्नुपर्छ, जसले लगानी आकर्षित गर्छ र निर्यातमुखी उद्योगहरूलाई प्रोत्साहन दिन्छ’, उनले भने। 

त्यस्तै, ‘स्टार्टअप र इनोभेशन ब्रिज’ निर्माण गरेर दुवै देशका उद्यमी र प्रविधि नवप्रवर्तकहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र नयाँ बजार पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए। 

‘सीमावर्ती पूर्वाधारमा लगानी गरी जडान क्षमता सुधार गर्न र हालको पारवहन अवरोधहरू हटाउनुपर्ने आवश्यकता छ’, उनले भने।

‘भारतको ट्रिलियन डलर अर्थतन्त्रः नेपालका लागि अवसर’ भन्ने शीर्षकमा आयोजित उक्त कार्यक्रममार्फत प्रियदर्शीले भारतको आर्थिक सफलताकोे कथालाई पनि प्रस्ट पारेका थिए।

‘भारत र नेपालबीच साझा गर्ने प्रशस्त अवसरहरू छन्, तर ती अवसरहरू आफैंमा परिणाममा रूपान्तरण हुँदैनन्’, उनले भने, ‘ऊर्जा सहयोग लगायत विभिन्न क्षेत्रमा निजी क्षेत्र–निजी क्षेत्रबीचको संलग्नता साझा समृद्धिको प्रमुख आधार हो। अगाडि बढ्नका लागि दुवै देशको सरकारबीच पनि अझ गहिरो नीतिगत समन्वय आवश्यक छ।’

कार्यक्रममा आइडा र सीआरएफबीच सम्झौता पत्रमा पनि हस्ताक्षर गरिएको थियो। सम्झौताको उद्देश्य दुई संस्थाहरूबीचको सहकार्यलाई संस्थागत गर्दै संयुक्त अनुसन्धान, नीति पैरवी र क्षेत्रीय विकास तथा कूटनीतिका विषयमा रणनीतिक संवादलाई प्रवद्र्धन गर्नु हो।

अतिथिहरूलाई स्वागत गर्दै आइडाका संस्थापक सुनिल केसीले यो साझेदारी दुवै संस्थाहरूका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए। 

‘यसले कार्यान्वयनयोग्य नीति निर्माण गर्नतर्फ हाम्रो साझा प्रतिबद्धतालाई झल्काउँछ’, उनले भने।

भारत हाल ४.१९ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनिसकेको छ। यसले हरेक १२ देखि १८ महिनामा थप १ ट्रिलियन डलर थपिरहेको छ। तर छिमेकी नेपाल भने त्यो अवसरबाट फाइदा लिन पछाडि परेको छ।

त्यसैले उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ कर्मचारी, कूटनीतिज्ञ, नीति विश्लेषक, शैक्षिक विज्ञ र व्यावसायिक नेताहरूले नेपालले भारतको वृद्धिबाट लिनसक्ने फाइदा र सम्भावनाको पनि गहन छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad