कारोबार


साउनकाे पहिलो साेमबार : मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन

साउनकाे पहिलो साेमबार : मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:१६, काठमाडौँ

साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन्।

धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने साउन महिनाको सोमबार विशेषगरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ, र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन्। उनले दर्शनार्थीसँग समेत कुराकानी गरेका छन्। दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गरे।

‘यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको छ’, दर्शनार्थी सरु खरेलले भनिन्, ‘दर्शनका लागि सटल बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखियो, जसले अशक्त तथा जेष्ठ नागरिकलाई सहज भएको छ।’

यस वर्षको साउनको पहिलो सोमबारको दिन दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन्। भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुहरूलाई राहत दिएको छ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई सक्रिय रहन निर्देशन समेत दिएका थिए।

साउन महिनाभरि प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ। यस्तै मन्त्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरू सम्झनामा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञमा समेत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad