समाज


स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो नागरिक आरोग्य कार्यक्रम

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो नागरिक आरोग्य कार्यक्रम

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:२०, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले 'निरोगी नेपाल'अभियानअन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहसम्म विस्तार गरिएको बताएका छन्। 

स्वास्थ्यमन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले योग, ध्यान, स्वस्थ जीवनशैली प्रवर्द्धनजस्ता कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको समन्वयमा एकीकृत रूपमा सञ्चालन गरी शारीरिक तन्दुरुस्ती, सकारात्मक सोच र व्यक्तित्व विकासमा जोड दिइएको बताए। 

यसले नसर्ने रोगहरूको रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउँदै नागरिकलाई स्वस्थ र सन्तुलित जीवन जिउन प्रेरित गर्ने उनको विश्वास छ। 

आयुर्वेद, योग तथा परम्परागत चिकित्सा पद्धतिको संरक्षण र विकास गर्ने नीति अनुरूप बूढानीलकण्ठमा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ स्थापना गरी मिति २०८१ चैत्र २२ देखि सेवा प्रारम्भ गरिएको उनले बताए।

यस केन्द्रले नागरिकलाई आयुर्वेद र योगमा आधारित विशिष्टीकृत पञ्चकर्म सेवा प्रदान गर्नेछ र यस क्षेत्रको अध्ययन–अनुसन्धानका लागि समेत महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने उनले बताए। 

जलनको उपचारलाई निःशुल्क गर्न ‘जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि, २०८१’, क्यान्सर सेवा प्रदेशमा पुर्‍याउन ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१’ र डिजिटल स्वास्थ्यको जग बसाल्न ‘विद्युतीय चिकित्सा अभिलेख र दूर चिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ जस्ता रूपान्तरणकारी दस्तावेजहरू जारी गरिएको मन्त्री पौडेलको भनाइ छ। 

त्यस्तै उनले १८ वर्ष मुनिका किशोरीहरूको डिम्बको अवैध कारोबारमाथि छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै समिति बनाएको छ। 

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै थापाथलीस्थित प्रसुतिगृहमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको मन्त्रालयका  प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

डा. बुढाथोकीका अनुसार उक्त छानबिन समितिको सदस्यहरूमा मन्त्रालय नीति योजना तथा अनुगमन शाखाकी डा. सुनिता लम्साल र मन्त्रालयकै कानून अधिकृत सुरेश चौलागाईँ रहेका छन्। समितिलाई अनुगमन गरेर प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ।

‘अवैध डिम्ब कारोबार भएको खबर बाहिरिएपछि हामीले पनि छानबिन समिति बनाएका छौँ, हिजोबाट उक्त समितिका सदस्यहरूले पत्र बुझेर काम अगाडि बढाउनुभएको छ, अब उहाँहरूको प्रतिवेदन आएपछि थप कुरा थहा होला’, मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने। 

यसअघि प्रहरीले किशोरीको डिम्ब कारोबार गरेको आरोपमा होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमा छापा मारेको थियो। प्रहरीले होप र्फिर्टलिटीबाट पाँच जनालाई नियन्त्रण लिएर छानबिन अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad