भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी किलोमिटर सडक कालोपत्रे गरेको छ।
बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयले गत आवमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न गरेको जानकारी दिएको हो।
गत आवमा मन्त्रालयले ९३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। आव समाप्त हुँदा लक्ष्यभन्दा दुई किलोमिटर बढी कालोपत्रे सम्पन्न भएको हो।
सडक कालोपत्रेमा लक्ष्यभन्दा बढी सफलता मिले पनि पुल निर्माणमा भने यस्तो हुन सकेन। गत आवमा मन्त्रालयले १५० वटा पुल निर्माण गर्ने लक्ष्य लिएको थियो। तर उक्त अवधिमा १०५ वटा पक्की पुल निर्माणसम्पन्न र १० वटा बेलीब्रिज जडान भएको मन्त्रालयले कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ।
भौतिक मन्त्री देवेन्द्र दाहालले वर्ष दिनको सबैभन्दा ठूलो उपलब्धिको रुपमा पुँजीगत खर्चलाई देखाएका छन्।
उनका अनुसार मन्त्रालयले पछिल्ला छ आवको तुलनामा गत आवमा सबैभन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको हो। गत आवमा मन्त्रालयको पुँजीगत खर्च ७६.४१ प्रतिशत पुगेको छ। यो राष्ट्रिय पुँजीगत खर्चभन्दा १३.२१ प्रतिशत बढी हो। राष्ट्रिय पुँजीगत खर्च ६३.२ प्रतिशत छ।
त्यसैगरी गत आवमै नेपालका सबै जिल्ला सदरमुकाम राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएका छन्। यसअघि कर्णाली प्रदेशअन्तर्गतको हुम्ला सदरमुकाम सिमकोट मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन।
गत असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। अब मुलुकको ७७ वटै जिल्ला सदरमुकाम राष्ट्रिय सडकको पहुँचमा पुगेका छन्।
एक वर्षको अवधिमा मन्त्रालयले १० वटा ऐन, नियमावली, नीति तयार गर्ने गरी प्रक्रिया अघि बढाएको छ। गत वर्ष मन्त्रालयले ३० वटा कानुन निर्माण प्रक्रिया अघि बढाउने लक्ष्य लिएको थियो। यी विषय निर्माण गर्नुअघि विभिन्न निकायसँग सहमति र अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको मन्त्री दाहालले स्वीकार गरे।

‘कानुन बनाउन सुरु गर्नुअघि नै सहमति लिनुपर्छ। सहमति लिएपछि मस्यौदामा अर्थ, कानुन मन्त्रालयको सहमति चाहिन्छ। साथै सरोकारवालसँग पनि छलफल गर्नुपर्ने हुन्छ’, मन्त्री दाहालले भने, ‘यी विविध कारणका बाबजुद नीति कार्यहरुमा मन्त्रालयको प्रगतिलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ।’
अघिल्लो आव २०८०/८१ मा विकास निर्माणका आयोजनामा दायित्व सिर्जना भई सोही आवमा भुक्तानी दिन नसक्दा मन्त्रालयको दायित्व बढेको थियो। गत आवमा यस्तो बक्यौतामध्ये ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी मन्त्रालय दिन सफल भएको छ। अब उक्त आवको भुक्तानी दायित्व थोरै मात्र बाँकी रहेको मन्त्रालयको दाबी छ।
यस्तै, भौतिक मन्त्रालयले आफ्नो अर्को प्रमुख उपलब्धिको रुपमा ग्वार्को ओभरपासलाई देखाएको छ।
यसबाहेक सिद्धबाबा सुरुङमार्गको ११२६ मिटरको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न हुनुका साथै ९०० मिटर कंक्रिट लाइनिङ सम्पन्न भइसकेको छ। हेम्जा–नयाँपुल सुरुङमार्ग र दुम्कीबास–बर्दघाट सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ।
पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक कालोपत्रेसहित निर्माणसम्पन्न भएको छ।

यो सडक पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ। नेपालमा औँलामा गन्न सकिने सडक मात्रै चिल्ला र फराकिला छन्। ती सडकको लम्बाइ थोरै छ। यो सडक तनहुँको पहाड, फाँट, बेसी र मर्स्याङ्दी नदीको किनार हुँदै अघि बढ्छ।
यसले सडक सुन्दरतालाई थप मनमोहक बनाउँछ। जसले गर्दा यो सडक भएर यात्रा गर्ने मानिसहरु केही समय लिएर फोटो खिच्ने तथा टिकटक बनाउने गर्छन्। तर यो मुलुकको प्रमुख राष्ट्रिय राजमार्गमध्ये एक हो। सडकमै गाडी रोकेर फोटो भिडियो खिच्दा दुर्घटनाको जोखिम अधिक हुन्छ। यसतर्फ ध्यान दिनेभन्दा पनि भौतिक मन्त्रालयका अधिकारीहरु सडक भाइरल भएकोमा बढी सन्तुष्ट देखिन्छन्।
यसलाई अहिले नियन्त्रण गर्न नसके आगामी दिनमा दुर्घटनाको जोखिम बढ्ने सम्भावना छ। सोही कारण भौतिक सचिव केशवप्रसाद शर्मा सडकमा बाधै सिर्जना हुने गरी तस्बिर र भिडिओ खिच्ने कार्य गर्न नहुने बताउँछन्।
‘सडकको बीचमा सवारी आगमनलाई बाधा पर्ने गरी फोटो तथा भिडिओ खिच्ने गर्नुहुँदैन’, उनको अनुरोध छ, ‘किनार र खुल्ला क्षेत्रमा बसेर सडकको मनमोहक दृश्य कैद गर्नु उपयुक्त हुन्छ।’
Shares

प्रतिक्रिया