ad ad

कारोबार


रवि सिंह भन्छन् : ९९ प्रतिशत आयोजनाको काम बन्द छन् (अन्तर्वार्ता)

रवि सिंह भन्छन् : ९९ प्रतिशत आयोजनाको काम बन्द छन् (अन्तर्वार्ता)

वसन्त अर्याल
चैत ३०, २०७६ आइतबार ८:५६,

कोरोनाभाइरस संक्रमणको डरले देश लकडाउन हुँदा सबैजसो निर्माण आयोजना ठप्प छन्। आयोजना क्याम्पमा भएका मजदुरले समेत काम गर्न पाएका छैनन्। अरुण, तामाकोशी जलविद्युत आयोजना, पोखरा विमानस्थललगायत केही गौरवका आयोजनामा काम भने भइरहेको छ।

पछिल्लो परिस्थिति विशेष गरी लकडाउनले निर्माण क्षेत्रमा पारेको असर र भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग गरिएको छोटो कुराकानी :

अहिले लकडाउनकै चरणमा छौँ, निर्माणकार्यको अवस्था कस्तो छ?
निर्माणकार्य सबै ठप्प भएको छ। ९९ प्रतिशत आयोजनाको काम बन्द छन्। ५ हजार बढी आयोजनामध्ये ८/९ वटामा मात्रै काम भइरहेको छ। त्यसमा केही राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन्।

काम भइरहेको भने पनि थोरै मजदुर र निर्माण सामग्रीको अभाव छ। यसले तीव्र रुपमा काम गर्न सकिएको छैन। भइरहेका काममा बाहिरबाट निर्माण सामग्री लैजान पाइएको छैन। कतिपय ठाउँमा स्थानीयले कोरोना संक्रमण फैलिने डरले काम गर्न दिएका छैनन्।

निर्माण क्षेत्रमा यसको असर कति समयसम्म पर्ला?
हामी निर्माण व्यवसायीले सरकारलाई अत्यावश्यक कामहरु गर्नुपर्छ भनिरहेका छौं। जहाँ कोरोनाको संक्रमण जोखिम कम छ र काम गर्न अत्यावश्यक छ, त्यो ठाउँमा काम गर्ने वातावरण बनाउन भनेका छौं।

अहिले नगरी नहुने काम भनेको २/३ महिना लगाएर खोला डाईभर्ट गरेर वा खोलालाई बाँधेर पुलमा ढलान गर्ने काम भइरहेको थियो। त्यो काम सम्पन्न गर्न पाए धेरै आर्थिक क्षति न्यून गर्न सकिन्छ। यो आर्थिक वर्षमा ८० प्रतिशत निर्माण काम हुँदैनन्। करिब २० प्रतिशत नगरी नहुने काम मात्रै हुन्छन्। अब दशैँपछि मात्रै ती काम सुरु हुन्छन्।

सुख्खायाममा गर्नुपर्ने आयोजनाको काम १ वर्ष पछि जाने भयो नि? 
मौसमलाई ध्यान राख्दै कम क्षति होस् भनेर लगभग २ सय पुलको काम गर्न पाए हुन्थ्यो भनेका छौं। सरकारले ५०/६० वटा पुल निर्माणका कामलाई अनुमति दिन सकिने विषयमा छलफल गरिरहेको बताएको छ। अर्को नदी नियन्त्रणको कामहरु पनि अहिले सुख्खा समयमा गर्नुपर्ने आवश्यक हुन्छ। वर्षात् अगाडि काम गर्न सकिएन भने अर्को वर्ष कुर्नुपर्छ।

त्यस्तै अहिले म्याद थपेका धेरै रुग्ण आयोजनाको फेरि म्याद थप गर्नुपर्ने हुन्छ। असार, साउन, भदौ र असोज ‘वर्किङ पिरियड’ मान्नुहुँदैन। अहिले गर्न नसकेको कामको प्रभाव हेरेर म्याद थप गर्नुपर्ने हुन्छ।

लकडाउन खुल्नेबित्तिकै आयोजनामा काम गर्न सक्ने अवस्था हुन्छ?
लकडाउन खुल्नेबित्तिकै काममा आउँदैनन्। मजदुर मानसिक रुपमा तयार हुँदैनन्। धेरैजसो भारतीय मजदुर छन्। भारतमा झन् बेहाल छ। उनीहरु आउने सम्भावना छैन। अहिले आउन दिनु पनि भएन । नेपालीहरु पनि खेती किसानीको मौसम भएकाले आफ्नै घरमा काममा व्यस्त हुन्छन्। हाम्रो मजदुर भनेका किसान नै धेरै छन्। उनीहरु आफ्नो किसानी सकाएर आउने धेरै हुन्छन्।

अर्को अहिले जति जना मजदुर क्याम्पमा छन्, उनीहरुले पनि लकडाउन खुल्नेबित्तिकै काम गर्दैनन्। एकपटक आफ्नो घर जान खोज्छन्। देशभर २ लाख मानिस हाम्रो क्याम्पमा छन्। उनीहरु कहिले खुल्छ र काम गरौं भनेका छैनन्। बरु लकडाउन खुल्छ र घरपरिवारलाई भेटौं भन्ने अवस्थामा छन्। घरनजिकैको काममा मजदुर आउन तयार होलान् तर घरबाट टाढा निर्माणको काममा आउन धेरै मजदुर तयार हुँदैनन्।

लकडाउनको अवस्थामा क्याम्पमा भएका मजदुरलाई के गरिरहनुभएको छ?
जति पनि हाम्रो क्याम्पमा रहेका मजदुर छन्, ती सबैलाई खानपिनको व्यवस्था गरिरहेका छौँ। नियमित मजदुरलाई त तलब पनि दिएका छौँ। त्यसबाहेक आयोजनामा ठेक्कामा काम गर्ने मजदुर हुनुहुन्छ। उहाँहरुको लागि खाना र बस्नको व्यवस्था गरेका छौं। त्यसबाहेक हाम्रो सुपरभाइजर, मेसिन अपरेटर, एकाउन्टेन्ट, प्रोजेक्ट म्यानेजरलगायत कर्मचारीहरुको खर्च व्यहोरिरहेका छौँ।

निर्माण व्यवसायीलाई यसले के–कति क्षति हुन्छ?
सबैभन्दा ठूलो क्षति समय हो। किनभने यो फेरि पाउँदैन। अहिले निर्माणको काम नभए पनि हाम्रो ‘ओभरहेड’ खर्च त भइरहेको छ।

कर्मचारीलाई तलब दिनुपरिरहेकै छ। उपकरणहरुको खरिद गर्दा लिएको ऋणको ब्याज तथा किस्ता बैंकलाई तिर्नु नै परेको छ। लकडाउन एक महिना होला तर यसको असर अर्को वर्षसम्म पर्छ।

अहिले करिब ८ खर्बको काम सञ्चालनमा छन्। त्यसको ओभरहेड खर्च १५ प्रतिशत राख्दा पनि १ खर्ब ३० अर्ब हुन्छ। यसको आधा क्षति भए पनि ६५ अर्ब नोक्सानी हुन्छ।

निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारसँग कस्तो राहत माग गर्नुभएको छ?
अहिले हामीले सरकारसँग केही पनि राहत माग गरेका छैनौं। अहिले नगरी नहुने काम गर्ने वातावरण बनाउन भनेका छौं। जसमा क्याम्पभित्रै भएका कर्मचारीलाई काम गर्न दिने र ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट, रड ढुवानीको व्यवस्था गर्नुपर्छ भनेका छौं।

राहत माग गर्नको लागि लकडाउन कहिले सकिन्छ र त्यसको प्रभाव कति हुन्छ भन्ने हुन्छ। सरकारले तत्कालका समस्या ब्याज र किस्ताको म्याद थप गरेर राम्रो गरेको छ। लकडाउन खुलेपछि उपकरणको ब्याज तथा किस्ता, प्रोजेक्ट लोनलगायत निर्माण व्यवसायलाई चलायमान बनाउन के गर्नुपर्छ भनेर विस्तृत अध्ययन गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .