कारोबार


साढे २ लाख बढीले चढे धरहरा, ८ महिनामा उठ्यो झण्डै ५ करोड

साढे २ लाख बढीले चढे धरहरा, ८ महिनामा उठ्यो झण्डै ५ करोड

रासस
असार २७, २०८२ शुक्रबार १७:५, काठमाडौँ

वि.सं. २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।   

गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।  

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन्। जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता छन्। हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन्।    

“बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने, “बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।”

धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि  प्रतिव्यक्ति रु १००० शुल्क तोकिएको छ।  

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो। त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो।  

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको बताइएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ।

यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad