सुदूरपश्चिम


दोधारा चाँदनी सुक्खा बन्दरगाहः रुख कटानको काम सकियो, खुल्यो निर्माणको बाटो

दोधारा चाँदनी सुक्खा बन्दरगाहः रुख कटानको काम सकियो, खुल्यो निर्माणको बाटो

गोकुल जोशी
असार २७, २०८२ शुक्रबार १७:२२, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुुक्खा बन्दरगाह स्थलमा रुख कटानको काम सकिएको छ।

भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका १ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काट्ने काम सकिएको हो। 

रुख कटानको काम सकिएसंगै सुक्खा बन्दरगाह निर्माणस्थलको ‘साइट क्लियर’ भएकाले निर्माणको काम सुरु हुने भएको छ। रुख कटानको काम सकिएकोले सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको हो।

‘रुख कटान गरेर साइट क्लियर गरिएको छ, अब छिट्टै निर्माण प्रक्रिया सुरु हुन्छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने हो। दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यासपछि औपचारिक रूपमा काम सुरु हुनेछ।’

गौरीशंकर सामुदायिक वनमा सुरुमा ४१ हेक्टर क्षेत्रफलमा रहेका १ हजार ७ सय २ रूख काट्नुपर्ने भए पनि छपान गरिएका १ सय ९ रुख चोरी भएका थिए। कटान गरिएका रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ। 

सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ। भारतले सुक्खा बन्दरगाह निर्माणका लागि ३ अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ। आगामी ३ वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ। 

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक पुग्न लाग्दा अब भने यहाँका स्थानीयमा निर्माण हुने आशा पलाएको छ। ढिलै भए पनि सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्ने भएपछि स्थानीय खुसी छन्। 

सुक्खा बन्दरगाह निर्माणपछि यहाँको नाकाबाट भारतसँगको व्यापार व्यवसाय बढ्ने अपेक्षा छ। 

सुक्खा बन्दरगाहकै लागि नेपाल र भारत दुवैतर्फ पहुँचमार्गदेखि अन्य पूर्वाधार निर्माणाधीन अवस्थामा छन्। 

नेपालतर्फ पूर्वाधारका रूपमा महाकाली नदीमा ४ लेनको पक्की पुलसँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ मलेरिया नालासम्म ८ किलोमिटर ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ। पहुँचमार्गको केही भाग कालोपत्र हुन बाँकी छ।

भारततर्फ राष्ट्रिय राजमार्गको चक्करपुर क्षेत्रबाट पहुँच मार्ग निर्माणको काम अन्तिम चरणमा छ। भारत सरकारको पूर्ण लगानीमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो। बन्दरगाहको डीपीआरअनुसार प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेडलगायत निर्माण गरिनेछ।

वर्षौदेखि बन्दरगाहको सपना बोकेका दोधारा चाँदनीसहित सुदूरपश्चिमका स्थानीय बासिन्दामा आशा जागेको छ।

‘बन्दरगाह बन्ने भनेर सुनेको वर्षौं भइसक्यो। भारततिर काम भइरहेको छ। हाम्रोतिर रुख कटानको काम सकियो,’ दोधारा चाँदनीका स्थानीय हरी भट्ट भन्छन्, ‘अब त बन्दरगाह निर्माण हुन्छ कि भन्ने आशा जागेको छ।’

भारततर्फ निर्माणाधीन सुख्खा बन्दरगाहका संरचनाहरू 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad