कारोबार


सांसदहरूले नेप्से पुनर्संरचना र नयाँ स्टक लाइसेन्सको प्रश्न उठाउँदा सरकारलाई देखाएर पन्छिए सन्तोषनारायण

सांसदहरूले नेप्से पुनर्संरचना र नयाँ स्टक लाइसेन्सको प्रश्न उठाउँदा सरकारलाई देखाएर पन्छिए सन्तोषनारायण

नेपालखबर
असार २६, २०८२ बिहिबार १४:४९, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेप्से पुनर्संरचनाका लागि बोर्ड तयार रहेको भन्दै सरकारबाटै प्रक्रिया अगाडि नबढेको दाबी गरेका छन्।

अर्थसमितिको बिहीबार बसेको बैठकमा बोल्दै श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने अन्तिम चरणमा रहेको बताउँदै नेप्से पुनर्संरचना र विस्तारको विषय सँगै अगाडि बढाउने दाबी गरे। 

'हामीले तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा भएको अध्ययन प्रतिवेदनअनुसार नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाएका छौँ। योसँगै नेप्से सुधार र पुनर्संरचनाको विषय पनि अगाडि बढाउने छलफल भइरहेको छ’, उनले भने।

उनले बोर्डले नेप्सेको सुधारका लागि आवश्यक निर्देशनहरू दिएको बताउँदै सरकारलाई समेत पुनर्संचनाबारे सुझाव दिएको बताए। 

'नेप्से सुधारमा बोर्डले नियामकको रुपमा काम गर्नुपर्नेछ। हामीले लिखित रुपमा नेप्से सुधारका कामहरू अगाडि बढाउनु भनेर निर्देशन दिएका छौँ। सरकारलाई पनि सुझाव दिएका छौँ’, उनले भने। 

पुनर्संरचनाको विषयमा सरकारले प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स वितरणको काम अन्तिम चरणमा पुगेको बताए। आवेदन दिएका तीन वटा कम्पनीको खामबन्दी अहिलेसम्म नखोलिएको भन्दै उनले उक्त आवेदन दिएको कम्पनीबारे अध्ययन गरेर लाइसेन्स दिने बताए।

उनले संवैधानिक इजलासबाट पनि नयाँ स्टक एक्स्चेन्ज दिनका लागि बाटो खुलिसकेको भन्दै ढिलो नगरी अनुमति दिने बताए।

यता नेप्सेका कर्मचारीहरूले भने पुनर्संरचनाको विषयमा सरकार मौन हुँदा नेप्से नै धराशायी हुने गुनासो गरे। नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी निर्देशक चूडामणि चापागाईंले नेप्से पुनर्संचनाका लागि आफूहरूले आवश्यक तयारी गरिसके पनि सरकारले अनुमति नदिँदा रोकिएको बताए। 

‘नेप्सेको सुधारका लागि पुनर्संरचना गर्नुपर्ने निष्कर्षसहितको प्रस्ताव हामीले अर्थमा पठाइसकेका छौँ, त्यताबाट स्वीकृति आएदेखि हामीले प्रक्रिया अगाडि बढाउन सक्थ्यौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad