समाज


स्याफ्रुबेशी र रसुवागढीमा अस्थायी पदमार्ग निर्माण, ४८५ जना गन्तव्यतर्फ लागे

स्याफ्रुबेशी र रसुवागढीमा अस्थायी पदमार्ग निर्माण, ४८५ जना गन्तव्यतर्फ लागे

नेपालखबर
असार २६, २०८२ बिहिबार १५:२१, काठमाडौँ

असार २४ गते मध्यरातमा भोटेकोसीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्डमा अस्थायी पदमार्ग बनाइएको छ।

पदमार्ग बनेसँगै ४ सय ८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।

भोटेकोसीशी नदीमा आएको बाढीले ठूलो जनधनमा क्षती पुर्‍याउनुकोसाथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन्।  बेपत्ता भएकाहरूमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन्।

हालम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुनसकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

उक्त शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशूली नदीको किनारामा फेला परेको थियो। 

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोसीमा मिसिँदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल–चीन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युतीय लाईन अवरुद्ध छ भने संचारका साधनहरूले समेत काम गर्न छाडेको छ। 

सो क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधरणहरू समेत खटिएका छन्। 

नेपाली ५० जना, चिनियाँ नागरिका १ जना भारतीय नागरिक ४ जना गरी ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४ महिला र ५१ पुरुष छन्।

२३ जनालाई नेपाली सेनाको हेलिकेप्टरद्वारा सकुशल उद्धार गरिएको छ भने अन्य व्यक्तिलाई विभिन्न उद्धार सामग्रीको सहयोगले उद्धार गर्न सफल भएको सशस्त्रले जनाएको छ।

त्यस्तै भोटेकोसी नदीमा आएको बाढीले जोखिममा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो। 

भोटेकोसीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ। भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवर्क्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षति पुर्‍याएको  सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन्।

बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुनर्निर्माणमा समेत जिल्ला समितिको बैठक बसी जिल्लाका सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाइएको सशस्त्रको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad