कारोबार


मौद्रिक नीतिमा होटल संघको सुझाव– विशेष उद्योगसरह सुविधा देऊ

मौद्रिक नीतिमा होटल संघको सुझाव– विशेष उद्योगसरह सुविधा देऊ

नेपालखबर
असार ९, २०८२ सोमबार १७:४७, काठमाडौँ

होटल संघ नेपालको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई मौद्रिक नीतिमा समेट्ने सुझाव दिएको छ। 

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि बजेटबाट घोषित कार्यक्रमहरुको सफल एवं प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा उपयुक्त नीति अवलम्बन गर्न सुझाएका हुन्। 

संघका अध्यक्ष विनायक शाहले पूर्वाधारहरूको उचित व्यवस्थापन हुन नसकेका कारण होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको बताए। 

उनले मागको अनुपातमा होटेल रुमहरुको अत्यधिक आपूर्ति रही क्षमताको एक तिहाइ मात्र माग रहेको हुँदा नियमित किस्ता र नियमित ब्याज भुक्तान गर्न समेत कठिनाइ भएकोले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योगसरह कर्जाको सावाँ र ब्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरे। 

अध्यक्ष शाहले होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायहरुको अनुमति तथा सिफारिस प्राप्त गर्नूपर्ने र सो प्रक्रियामा समय लाग्ने भएको हुनाले होटलहरुलाई भुक्तानी गर्न सहज हुने व्यवस्था गर्न माग गरे।

होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराई दिँदा थप प्रभावकारी हुने बताए।

उनले पर्यटकहरुले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधान अनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर ३ सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकोले  यसलाई बढाउन आग्रह गरे।

अधिकांश होटलहरुको देश विदेशबाट अनलाईन प्लाटफर्म मार्फत बुकिङ आउने गरेको परिप्रेक्ष्यमा अनलाईन बुकिङ प्लाटफर्मबाट भारतीय तथा नेपाली नागरिकहरुले बुकिङ गरेको खण्डमा बुकिङबापतको रकमको भुक्तानी आ–आफ्नो मुद्रामा गर्ने गरेको तर उक्त प्लाटफर्मलाई कमिसन डलरबाट गर्नुपर्ने बाध्यता रहेकोमा यसको समाधान गरिनुपर्ने  बताएका छन्। 

सुझाव पत्रमा नेपाल सरकारले समेत होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग, विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा प्रदान गरी राष्ट्रिय महत्वको उद्योगको मान्यता दिएको हुँदा तहाँबाट समेत यसै अनुसार विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जामा बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याज कायम गर्दै पर्यटन उद्योगको मेरुदण्डको रुपमा रहेको यस होटल उद्योगलाई प्रोत्साहन नीति अवलम्बन गरिनुपर्ने उल्लेख छ।

हानले नेपाली कम्पनीहरुले समेत विदेशमा शाखा विस्तार गरी होटलहरुको प्रवर्द्धनमार्फत समग्र पर्यटन उद्योगको प्रवर्द्धन तथा विकास हुने मात्र नभई मुलुककै पर्यटन प्रवर्द्धन हुने भएकोले ती कम्पनीहरुका लागि विदेशी मुद्रा कारोबारका लागि स्वीकृति दिनुपर्ने सुझाव दिएको छ।

क्षेत्रीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने खालका नीति जस्तै सार्क सदस्य राष्ट्र बंगलादेश र श्रीलंकाबाट नेपाल भ्रमणमा अत्यधिक माग बढेको क्रममा त्यहाँबाट नेपाल आउने पर्यटकहरुले बंगलादेशी टाका तथा श्रीलंकाली मुद्रा समेत भुक्तानी गर्न सक्ने व्यवस्था भएमा ती देशहरुबाट आउने पर्यटकहरुको संख्या दोब्बर वृद्धि हुने हुँदा परिवर्त्य मुद्रा स्वीकार गर्ने नीति लागू गर्न आग्रह गरे। 
 
भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा वातावरण प्रभाव मूल्यांकनविना दर्ता नवीकरण नभई नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने विदेशी विनिमय इजाजत नपाउने हुँदा अहिलेको अवस्था कतिपय तारे होटलहरु पर्यटन विभागमा नवीकरण हुन सकेका छैनन्।  यसले नेपाल राष्ट्र बैंकबाट समेत विदेशी विनिमय इजाजत लिनबाट वञ्चित गरिएको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad