कारोबार


प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन (तस्बिरहरू)

सौगात दाहाल
असार ६, २०८२ शुक्रबार १६:३२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उपत्यकाको चक्रपथ सडकअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्।

 योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतीक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।

यसरी २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो। तर तोकिएको समयमा निर्माणसम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रोपटक म्याद थप भएको थियो।

तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गते सम्पन्न गर्ने गरी म्याद थप भएको थियो। आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो।

ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको हो।

त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको थियो।

ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर,  ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्‍याम्पको दूरी भने १० दशमलव २ मिटर छ।

तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको छ।

सम्झौताअनुसार निर्माणपश्चात् निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुटि सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहनेछ।

थप तस्बिरहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad