सेयर खरिद गरेको एक वर्ष नपुग्दै बिक्री गर्न पाउने माग निर्जीवन बिमा व्यवसायीहरुले राखेका छन्।
नेपाल निर्जीवन बिमा व्यवसायी महासंघले बिहीबार विज्ञप्ति जारी गरेर एक वर्षे सीमा अव्यावहारिक भएको उल्लेख गरेको हो।
‘नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ’, विज्ञप्तिमा उल्लेख छ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था छ।
उक्त व्यवस्था अव्यावहारिक रहेको भन्दै संघले धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतलाई ध्यानाकर्षण गराएको हो।
‘कम्पनीमा कायम रहेका सवै सेयरधनीजस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँछौँ’, विज्ञप्तिमा भनिएको छ।
लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको उनको भनाइ छ।
सञ्चालकहरुले अन्य सेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ।
‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत नियामक निकायलाई जानकारी दिई सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।
Shares

प्रतिक्रिया