हङकङको एक पसलमा लुटपाट गरी फरार अभियुक्त थाइल्यान्डमा पक्राउ परेका छन्। बुधबार दिउँसो १ बजे हार्ट एभिन्युस्थित एक भवनको दोस्रो तलामा रहेको विलासी पसलमा पुगी लुटपाट गरेका उनलाई थाइल्यान्डको बैंककस्थित सुवर्णभूमि विमानस्थलमा पक्राउ गरिएको हो।
अभियुक्तले पसलबाट सुनको हार लगायत झन्डै ३० लाख हङकङ डलर बराबरको सामान लुटपाट गरी भागेका थिए। उनलाई थाई अधिकारीहरूले पक्राउ गरी हङकङ फिर्ता पठाएका हुन्।
अनुसन्धान अनुसार, अभियुक्तले ग्राहकको रूपमा पसलमा छिरी पसलमा रहेकी महिलालाई लागू औषध सुँघाई बेहोस बनाएर लुटपाट मच्चाएका थिए। उनले पसलमा रहेकी ४९ वर्षीया महिलालाई तौलियामा लागूऔषध राखेर सुँघाएका थिए।
पीडित महिला एक घण्टापश्चात् होसमा फर्किएपछि हारगुहार गरेकी थिइन् र तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन्। निवेदन पाएपश्चात् लुटेराको खोजीमा जुटेको प्रहरीले अभियुक्त बैंककको उडानमा चढेको पत्ता लगायो।
यसपश्चात् द्रुत अन्तर्राष्ट्रिय सहयोगमार्फत थाई अध्यागमन अधिकारीलाई खबर गरेको थियो। फलस्वरुप अधिकारीहरूले उनलाई विमानस्थलमै पक्राउ गरी हङकङ डिपोर्ट गरेका थिए।
थाई अधिकारीहरूले अभियुक्तको साथबाट चोरीका सम्पूर्ण सामान र १ करोड थाई भाटभन्दा बढी मूल्यका विभिन्न विदेशी मुद्रा पनि बरामद गरेका थिए।
हङकङ प्रहरीले अभियुक्तलाई बिहीबार बिहान हिरासतमा लिएको थियो।
Shares

प्रतिक्रिया