कारोबार


कोरिया सरकारको सहयोगमा निफ्राले निष्काशन गर्‍यो पहिलो हरित ऋणपत्र

कोरिया सरकारको सहयोगमा निफ्राले निष्काशन गर्‍यो पहिलो हरित ऋणपत्र

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १८:१४, काठमाडौँ

नेपालमा पहिलो ऐतिहासिक हरित ऋणपत्र निष्काशन भएको छ। 

ग्लोबल ग्रीनग्रोथ इन्ष्टिच्युट (जीजीजीआई) र कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका)को आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकलगायत नियामक निकायबाट स्वीकृति  लिएर नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले हरित ऋणपत्र जारी गरेको हो। 

निफ्राहरित ऊर्जा ऋणपत्र २०८८-८९ शीर्षकमा निष्काशन हुने ऋणपत्र पाँच अर्ब रुपैयाँ (३ करोड ६०लाख अमेरिकी डलर) बराबरको छ। ७ वर्षको अवधिका लागि जारी ऋणपत्रले वार्षिक ६ प्रतिशतको दरले ब्याज प्रदान गर्नेछ। ऋणपत्रबाट प्राप्त हुने रकमले नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर सहयोग गर्नेछ। जसले नेपालमा स्वच्छ, हरियाली पूर्वाधार लगानीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।  

होटल याक एन्ड यतीमा भएको ऋणपत्र निष्काशन कार्यक्रममा  वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी. बिच्छा, नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ, कोइका नेपालका निर्देशक लगायतका प्रतिनिधिहरू उपस्थित थिए। 

कार्यक्रममा, मन्त्री ठकुरीले नेपालमा पहिलो हरित ऋणपत्रको शुभारम्भले दिगो विकास र जलवायु परिवर्तको सामना गर्दै आर्थिक विकासको यात्रामा ऐतिहासिक कोसेढुङ्गा सावित हुने धारण राखे। उनले वातावरण संरक्षण, स्वच्छ ऊर्जा र हरित पूर्वाधारप्रति सरकारको दृढ प्रतिबद्धतामा जोड दिनुका साथै हरित वित्तको परिचालनले समावेशी आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका लागि नयाँ बाटो खोल्ने कुरामा जोड दिएका थिए।

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्कले नेपालको हरित विकासप्रति कोरियाली सरकारको प्रतिबद्धतामाथि प्रकाश पार्दै ग्रिन बन्डले नेपाललाई थप लगानी आकर्षित गर्न र दिगो तथा समावेशी आर्थिक वृद्धिको लागि यसको संस्थागत र प्राविधिक क्षमतालाई बलियो बनाउन आधार तयार भएको बारेमा जोड दिए। 

कोइका नेपालका कन्ट्री डाइरेक्टर खोङमुहनले ग्रिन बन्ड जारी गर्नुलाई वित्तीय नवप्रवर्तनको सुरुवातको रूपमा लिनु पर्ने धारणा राख्दै आर्थिक वृद्धिलाई जलवायु र वातावरणसँग जोड्नका लागि हरित समावेशी विकास प्रवर्द्धन गर्न नेपालको रणनीतिक प्रतिबद्धताका लागि सहकार्यमा जोड दिए।  

त्यसैगरी जीजीजीआई कन्ट्री प्रतिनिधि लौरा जलासजोकीले विभिन्न साझेदार संस्थाको सहकार्यले नेपालमा पहिलो सार्वजनिक हरित बन्ड जारी गर्न पाएकोमा आभार प्रकट गर्दै यस सुरुवातले देशको दिगो तथा जलवायु परिवर्तनको सामना गरी वातावरण मैत्री सहकार्यले सार्थकता पाउने बताइन्।  

यो महत्त्वपूर्ण कोसेढुङ्गासँगै, नेपालले हरित स्वच्छ विकासको यात्रामा जलवायु परिवर्तनसँग सामना गर्दै सबैका लागि हरित आर्थिक अवसरको सदुपयोग गर्दै, पूँजी बजारको लाभ उठाउँदै विश्वभरी आफ्नो उपस्थिती जनाउने छ। यसरी दिगो पूर्वाधार परियोजनामा वित्तीय लगानी सहजीकरण हुनुले नेपालको समग्र हरित पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad