कारोबार


तीन दशक टेलिकममा बिताएकी पहाडी १ वर्ष नेतृत्व गर्न नपाउँदै निलम्बनमा परिन्

१४ कर्मचारीविरुद्ध मुद्दा, साढे ३३ करोड नोक्सानको आरोप
तीन दशक टेलिकममा बिताएकी पहाडी १ वर्ष नेतृत्व गर्न नपाउँदै निलम्बनमा परिन्

नेपालखबर
जेठ २५, २०८२ आइतबार १७:८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)को बिलिङ प्रणालीमा घोटाला गरेको आरोपमा आइतबार १८ जनाविरुद्ध मुद्दा दायर गर्‍यो।

विशेष अदालतमा दायर मुद्दामा अभियोग खेप्नेमा टेलिकमको नेतृत्व गरिरहेकी संगीता पहाडीसहितका कर्मचारी पनि छन्। 

मुद्दा दायर भएसँगै पहाडी निलम्बनमा परेकी छिन्। 

विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुनील पौडेल निलम्बनमा परेसँगै प्रतिस्पर्धाबाटै पहाडी टेलिकमको प्रबन्धनिर्देशक बनेकी थिइन्। अहिले उनै पौडेलसहित भ्रष्टाचार गरेको आरोपमा उनी पनि तानिएकी हुन्।

तीन दशक लामो समय दूरसञ्चार क्षेत्रमा बिताएर पहाडीले टेलिकमको नेतृत्वमा पुगेकी थिइन्।

२०८१ भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई कम्पनीको रिक्त प्रबन्धनिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको  थियो। 

पौडेलविरुद्ध मुद्दा दायर भएपछि उनले करिब १ वर्ष टेलिकमको नायब प्रबन्धनिर्देशक पद सम्हालिन्।

त्यसपछि नेपाल टेलिकमको नेतृत्व चयन प्रक्रिया यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले अघि बढाएकी थिइन्। 

आवेदन माग गरेर अन्तर्वार्ता र प्रस्तुतीकरणपछि नयाँ सरकार गठन हुँदा रोकिएको थियो। पृथ्वीसुब्बा गुरुङ मन्त्री भएपछि सर्टलिस्टमा परेर पहाडी नियुक्त भएकी थिइन्। पहाडीसँगको प्रतिस्पर्धामा १७ जना थिए। 

उनीसँगै विमल आचार्य र अनिलकुमार झा अन्तिम ३ मा परेका थिए।

१४ कर्मचारीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका १४ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। जसमा प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, अमुल प्रधान, देवेन्द्र खतिवडा, राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण र परमात्मा भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ। 

टेलिकमका प्रशासनका एक अधिकृतका अनुसार हाल पहाडीसहित ९ जना टेलिकममा कार्यरत छन्। 

बिलिङ प्रणालीमा काम गरिरहेको चिनियाँ कम्पनी एसियाइन्फोका कर्मचारीविरुद्ध समेत मुद्दा दायर भएको छ। 

नेपाल टेलिकमले बिलिङको लागि नयाँ ठेक्का टेन्डरको प्रक्रिया अघि बढाएकोमा त्यो पनि विवादमा परेको छ। नयाँ ठेक्का लगाउने प्रक्रियामा सहभागी कर्मचारी समेत तानिएका छन्। यसले टेन्डर प्रक्रिया अवरुद्ध हुने देखिएको छ। 

साढे ३३ करोड टेलिकमलाई नोक्सानी गरेको आरोप
टेलिकमका कर्मचारीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको आरोप छ। नेपाल दूरसञ्चार कम्पनीको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दायर मुद्दामा उल्लेख छ।

२०६८ पुस ६ गते नेपाल टेलिकम र एशियाइन्फो लिङकेज टेक्नोलोजिस् इंकबीच कनभजेन्ट रियल टाइम बिलिङ र कस्टोमर सपोर्टको प्रणाली खरिद गर्दा ६ वर्षसम्म वार्षिक मर्मत करार गर्न सकिने व्यवस्था छ। मर्मत कार्यको लागि करार सम्झौता गर्दा ५ प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि टेलिकमका कर्मचारीले उक्त प्रवधानप्रतिकूल हुने गरी मर्मत खरिद गरेको आरोप छ।

‘वार्षिक ५ प्रतिशत छुटसहितको एमसी सेवाको प्रावधानप्रतिकूल हुने गरी आपूर्तिकर्ता एसियाइन्फोसँग अस्वाभाविक मूल्य कायम गरी २ करोड ५ लाख ६३ हजार अमेरिकी डलरमा वार्षिक मर्मत सेवा खरिद गर्ने सम्झौता गराउँदा टेलिकमलाई नोक्सानी भएको छ’, अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले भने। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad