कारोबार


राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै

राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १५:३४, काठमाडौँ

राहदानी विभागबाट फ्रान्सेली कम्पनी आइडेमिया बाहिरिने भएको छ। 

६४ लाख पासपोर्ट छपाइका लागि जर्मनीका कम्पनी छनोटमा परेसँगै आइडेमिया बाहिरिने निश्चित भएको हो। 

राहदानी विभागले आर्थिक प्रस्तावअनुसार बिहीबार कम्पनीहरुलाई आशय पत्र पठाएको छ।

दुईवटै प्याकेज जर्मन कम्पनीले पाए पनि प्याकेज १ र प्याकेज २ मा फरक कम्पनीले ठेक्का पाएका हुन्। 

योसँगै पहिलो प्याकेज जर्मनको कम्पनीले पाउने भएको छ। राहदानी विभागले मेहलबुर आई सर्भिस जर्मनीको कम्पनीलाई आशय पत्र जारी गरेको हो। 

प्याकेज १ अन्तगर्तका ई पासपोर्टको सिस्टमका लागि १ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का पाउने उल्लेख गरेको छ। विभागका निर्देशक रवीन्द्र राजभण्डारीले पत्र काटेका हुन्। 

प्याकेज १ मा ३ वटा कम्पनी प्राविधिक मुल्यांकनमा छनोट भएका थिए। त्यसमा हाल पासपोर्ट छपाइ गरिरहेको फ्रान्सको कम्पनी आईडेमिया र मलेसियाको आईरिस कर्पोरेसनले बढी कबोल गर्दा आर्थिक प्रस्तावबाट बाहिरिएका छन्।

पहिलो प्याकेजको ठेक्का पाएको कम्पनी दोस्रो प्याकेजबाट बाहिरिएको छ। दोस्रो प्याकेज जर्मन कम्पनी भेराडोसले पाएको छ। पासपोर्ट छपाइ, गुणस्तर नियन्त्रण र प्याकेजिङको लागि ६ अर्ब ११ करोड रुपैयाँमा ठेक्का हालेको हो। 

दोस्रो प्याकेजमा ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट परेका थिए। जसमा आईडेमिया, मेहलबुर र पोल्यान्डको पीडब्लु पीडब्लु कम्पनी आर्थिक प्रस्तावबाटै बाहिरिएका छन्। 

टेन्डर डकुमेन्ट बनाउने समयमा आइडेमियाअनुकूलका प्रावधान राखिएको भन्दै आलोचना भएपछि राहदानी विभागले म्याद थप गरेर टेन्डर संशोधन गरेको थियो। आइडेमियाले पछिल्ला वर्ष भेरियसनबाट ई पासपोर्ट छपाइको काम गरिरहेको छ। 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले २ फरक कम्पनीले टेन्डर पाए पनि समन्वयकै आधारमा पासपोर्ट छपाइ हुने बताए। 

‘अहिले एउटा कम्पनीले नै काम गर्दै आएको छ। हाल २ प्याकेज बनाएकाले २ कम्पनी छनोटमा परेका छन्’, महानिर्देशक अर्यालले भने, ‘छपाइको क्रममा २ कम्पनीको समन्वयत्मक रुपमा काम हुने गरी सिस्टम तयार गर्छौं।’

हाल छपाइ गरिरहेको कम्पनीले २०२५ को डिसेम्बरसम्म मात्रै छपाइ गर्छ। उक्त अवधिसम्म नयाँ कम्पनीले छपाइको काम सुरु गर्नुपर्छ। तर नयाँ कम्पनीलाई आफ्नो सिस्टम र उपकरण जडान गर्न करिब ८ महिना लाग्ने देखिन्छ।

‘अब ६ महिनाको अवधि मात्रै बाँकी छ। नयाँ कम्पनीसँग सम्झौता भए पनि उसलाई काम गर्न ८ महिनाजस्तो लाग्छ’, अर्यालले भने, ‘बीचमा केही महिना ग्याप हुनेजस्तो देखिएको छ। त्यसलाई व्यवस्थापन गर्छौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad