कारोबार


प्रभु हेलिले भित्र्यायो एयरबसको एच १२५ हेलिकप्टर

प्रभु हेलिले भित्र्यायो एयरबसको एच १२५ हेलिकप्टर

नेपालखबर
जेठ १४, २०८२ बुधबार १७:२३, काठमाडौँ

प्रभु हेलि लिमिटेडले फ्रान्सेली हवाइ साधन निर्माता एयरबसद्वारा निर्मित नयाँ हेलिकप्टर थपेको छ।

प्रभु हेलि लिमिटेडले कल साइन ९एन‑एएनटी रहेको एयरबसको एच १२५ हेलिकप्टर थपेको हो।

एयरबसको एच १२५ हेलिकप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्‍याउन उत्कृष्ट भएकाले सो हेलिकप्टर खरिद गरिएको प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए।

अत्याधुनिक प्रविधियुक्त यो एच १२५ (एएस ३५० बी३ई) हेलिकप्टरमा ५ यात्रु सिट क्षमता छ। एयरबस एच १२५ हेलिकप्टर हाई अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकप्टरको रूपमा परिचित छ।

कम्पनीले पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यहरूका लागि नियामक मापदण्डहरूमा पूर्ण प्रतिबद्धता रही उच्च अपरेसन स्ट्यान्डर्डमा सेवा प्रदान गर्ने उद्देश्यले नयाँ हेलिकप्टर ल्याइएको हो।

यसका लागि आवश्यक प्रशासनिक र प्राविधिक प्रक्रियापछि प्रभु हेलिकप्टरले ल्याएको ९एन‑एएनटी कलसाइनको एयरबस एच १२५ हेलिकप्टरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीको एओसीमा नयाँ हेलिकप्टर थप गरी व्यावसायिक उडानका लागि अनुमति दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

२०७२ असोजमा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलिले तत्कालीन मुक्तिनाथ हेलिकप्टरलाई १० वर्षअगाडि अधिग्रहण गरेको थियो। एउटा रोबिन्सन हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु हेलिले चारवटा रोबिन्सन हेलिकप्टर थप गरी सेवा प्रदान गरेको थियो। 

कम्पनीले ५ वर्षअगाडि पहिलो एयरबस हेलिकप्टर भित्र्याएको थियो। नेपालमा हेलि अपरेसन अनुभवका आधारमा, नेपालका कठोर भौगोलिक आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कम्पनीले उच्च प्रदर्शन क्षमतायुक्त एयरबस खरिद गर्ने निर्णयसहित सम्पूर्ण रोबिन्सन हेलिकप्टर बिक्री गरेको थियो।

नयाँ हेलिकप्टर भित्र्याएसँगै प्रभु हेलिसँग दुईवटा एयरबस एच १२५ हेलिकप्टर भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad