स्थानीय सरकारले संघीय सरकारको दोहोरो चरित्रका कारण आफूहरुलाई काम गर्न समस्या भएको गुनासो गरेका छन्।
सरकारले कृषि लगायत अत्यावश्यक र ठूला उद्योगहरुमा कर्मचारीको सुरक्षा व्यवस्था मिलाई सञ्चालन गर्न दिने निर्णय गरेपछि आफूहरु समस्यामा परेको गुनासो उनीहरुको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत बिहीबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो। उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरी सञ्चालन गर्न दिने निर्णय गरेसँगै स्थानीय तहमा कृषि लगायतका उद्योगहरु धमाधम खुल्न थालेपछि स्थानीय सरकारलाई व्यवस्थापनमा समस्या परेको हो।
सरकारको निर्णयसँगै झापामा चियावगान सञ्चालकले मजदुरलाई काममा फर्कन निर्देशन दिएपछि समस्या जटिल भएको हो। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले सरकारको दोहोरो चरित्रका कारण स्थानीय तहमा व्यवस्थापन गर्न समस्या भएको गुनासो गरे।
उनले भने, ‘मोबाइलमा घर भित्रै बस्नु भनेर बारम्बार सन्देश पठाउने, टेलिफोनको रिङ टोनमा घर भित्रै बस्नु भनेर भन्ने, अनि उद्योगहरु सञ्चालनको व्यवस्था मिलाउने भनेर स्थानीय निकायलाई भन्ने?’
त्रिवेणी गु्रप झापाले बर्ने चिया बगानका मदजुरलाई काममा लगाएपछि बगान पुगेका उनले कयौं सरकारी कर्मचारीलाई घरमै बसाएर तलब दिने सरकारले श्रमिकलाई दिन नसक्ने भए आफूहरुले नै व्यवस्था गर्ने चुनौति दिए।
उनले भने, ‘श्रमिकलाई भेडाबाख्रा सम्झने? टेलिफोनमा घरैमा बस्नु भन्छ। घरैमा बस्नु भन्छ अनि यतातिर श्रमिकलाई ल्याएर काम लगाउने। तपाईंहरुलाई भेडाबाख्रा सम्झेको सरकारले? गरिब दुःखी मान्छे होइन? उहाँहरुलाई रोग लाग्दैन? त्यो पनि विषादी छर्ने लगाईरहेको छ। श्रमिकलाई घरमा बसी बसी राख्न सरकारले सक्त्तैन भने, सरकारले हात झिक्यो भने गाउँपालिकाकाले खुवाउँछ। अमेरिकाले चाईनाले थाम्न नसकेको बेला श्रमिकलाई जोखिममा काम लगाउने?’
चियाबगानले कि काममा आउन कि राजीनामा दिन दबाब दिँदै जबरजस्ती मजदुरलाई हस्ताक्षर गराउँदै काम लगाएको छ। चिया बगानका प्रबन्धक नितेश कुमार जैसवालले सरकारले उद्योग खोल्ने निर्णय गरेकाले आफूहरुले नगरपालिकालाई पत्र दिएर काम सुरु गरेको तर कुनै पनि मजदुरलाई जबरजस्ती काममा नलगाएको दाबी गरे।
झापा, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद चापागाईले भने तत्काल बगान खोल्न मिल्दैन भनेर जवाफ दिएको तर बगानले जबरस्ती मजदुरलाई बोलाई काममा लगाएको बताए।
उनले भने, ‘स्थानीय तहले कोरोना भाइरस नसर्ने, नफैलने कुराको ग्यारेन्टी मापदण्ड बनाई आवश्यकता भएमा निर्णय गरेर काम सुरु गर्नुपर्छ। अहिले काम सुरु गर्न मिल्दैन भनेर मैले आधिकारीक ढंगले जवाफ दिएको हो।’
चिया बगानमा काम गर्ने मजदुरहरु भने चिया टिप्न आदेश आएपछि आफुहरु काममा फर्केको बताए।
एक मजदुरले भनिन् ‘अब आजदेखि काम चालु गर्नु भन्ने आदेश आएपछि हामी आयौं। घरमा बसेर कसैले खानका लागि दिँदैन। छोरा छोरी पाल्छु पर्छ। हाम्रो त यही हो जीविका। राहत दिने कुरा अरे अरे भन्ने सुनिन्छ न्यजुमा तर हामी कहाँ कोही आएको छैन।’
बगान सञ्चालकले सुरक्षाको प्रबन्ध मिलाएको बताएपनि मजदुरसँग मास्क बाहेक अन्य सुरक्षाका सामाग्री छैनन्। तर बगानमा काम गर्ने मजदुरका नेताहरु भने न त मजदुरको सुरक्षाका बारेमा बोल्न सकेका छन् न त उनीहरुले पाउने पारिश्रमिकको बारेमा नै।
चिया टिप्ने मजदुरलाई दैनिक प्रतिव्यक्ति ३ सय ८५ रुपैयाँ ज्याला दिने गरेको बगानले कतिपय मजदुरलाई पुस यताको पारिश्रमिक अझै उपलब्ध गराएको छैन।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योग भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्ने वातावरण मिलाउनुको साथै हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह् कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया