जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार) सहित तीनवटा कन्टेनर पक्राउ गरेको छ।
पक्राउ परेका सामग्रीको मूल्य तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
प्रहरीले जाँचका क्रममा भन्सार छली गरी ल्याइएको पाएसँगै आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए।
मेची भन्सार कार्यालयले ती सामान अवैध नभएको दाबी गरेको छ । भन्सार तिरेर नियमसङ्गत ढङ्गले ती कन्टेनर भित्रिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले बताए। उनले कन्टेनर भारतबाट नभई चीनबाट कृषि औजार लिएर आएको बताए।
Shares

प्रतिक्रिया