‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ।
आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल–जापानबीच स्वार्थरहित सम्बन्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जापान नेपालको घनिष्ट मित्रराष्ट्र भएको बताए। उनले भने, ‘नेपालको विकासमा जापानबाट महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएका छौँ, आगामी दिनमा जापानको सहयोग अझ फराकिलो हुनेछ भन्ने विश्वाससहित सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।’
सगरमाथा संवादको क्रममा नेपाल भ्रमणमा आएका जापानी उपविदेशमन्त्रीलाई धन्यवाद दिँदै उपप्रधानमन्त्री पौडेलले उनलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणा दिए। जापान सरकारले नेपाललाई विविध क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको स्मरण गर्दै उहाँले पछिल्लोपटक धुलिखेल अस्पतालको स्तरोन्नतिका लागि प्राप्त भएको अनुदानप्रति धन्यवाद ज्ञापन गरे।
आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट रु तीन अर्ब दुई सय ९६ करोड येनसम्मको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप ५७ करोड ३० लाख येन थप अनुदान उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ। रासस
Shares

प्रतिक्रिया