अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारले समयमा नै चालेको कदमहरुबाट हालसम्म संक्रमित व्यक्तिको संख्या सानो रहनपुगेको दाबी गरेका छन्।
कोरोना संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँग आज अर्थ मन्त्रालयमा भएको छलफल कार्यक्रममा उनले सरकारको उक्त प्रयासलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सह्राहना भएको दाबी गरे।
‘सरकारको मात्रै हैन, साझा दायित्व’
उनले कोरोना संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताए। अर्थमन्त्री डा. खतिवडाले साझा समस्यालाई साझा रुपमै समाधान गर्नुपर्ने समय आएकाले सबै जना आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने छलफलमा बताएका थिए।
मन्त्री डा. खतिवडाले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको सक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पु¥याउने कामलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।
‘स्थानीय तह जिम्मेवार र सक्रिय’
संघीय संरचनाअनुरुप जनप्रतिनिधिहरुको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको उल्लेख गर्दै उनले स्थानीय तहलाई संक्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रिय रुपमा परिचालित गर्न पाइएको बताए।
अन्तर्राष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको उनको भनाइ थियो। उनले नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र विदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कूटनीतिक तहमा पहल भएकोे समेत स्पष्ट पारे।
अहिले कोरोना संक्रमण रोक्न जो जहाँ छौं त्यही बस्नु नै सबैभन्दा उत्तम उपाय भएको समेत बताए। मन्त्री डा. खतिवडाले विश्वभर मानव जातिको सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्षले विना स्वार्थ कोरोना न्यूनीकरण तथा रोकथाममा लाग्नुपर्ने बताए।
कोरोना जोखिम हटेपछि विज्ञ समिति गठन
कोरोना संक्रमण रोकथामका लागि अरु मुलुकहरुले चालेका कदमहरुको सूक्ष्म विश्लेषण गर्ने र नेपालले अपनाउनुपर्ने थप सावधानी तथा कोरोना जोखिम समाप्ति पछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गरिने समेत उनले बताए।
‘ज्यालादारीमा बाँच्नेलाई हेर्नुपर्छ’
छलफलमा सहभागीहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पु¥याउन ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेको अर्थ मन्त्रालयले जनाएको छ।
त्यस्तै, सामाजिक सुरक्षामा ध्यान दिँदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिहरुको मनोवल बढाउनुपर्ने, आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने, मितव्ययिताको नीति अवलम्बन गर्नुपर्ने तथा खरिद बिक्री पारदर्शी बनाउनुपर्नेलगायतका विषयमा उनीहरुले धारणा राखेका थिए।
कोरोना संक्रमणविरुद्धको रणनीति सबै जनतालाई स्पष्टबोध हुनुपर्ने, स्वास्थ्य सूचना नियमित रुपमा सार्वजनिक गर्नुपर्ने, विज्ञ समूह बनाएर सुझाव लिनुपर्ने तथा सरकारले घोषणा गरेका राहत कार्यक्रमको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्नुपर्ने धारणा तथा सुझावहरु राखेका थिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णिम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीले आफ्ना धारणा राखेका थिए।
छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, सदस्यहरु, अर्थ सचिव, राजस्व सचिव र राष्ट्रिय योजना आयोगका सचिव लगायत सहभागी रहेका थिए।

प्रतिक्रिया