नेपाल विद्युत् प्राधिकरणको व्यवसाय विकास निर्देशनालयअन्तर्गतको विद्युत् व्यापार विभागले जलविद्युत् आयोजनाहरुलाई विद्युत् खरिदबिक्री सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरेको छ।
प्राधिकरण सञ्चालक समितिको गत चैत १२ को बैठकबाट गत पुस १६ मा स्वीकृत भएको ऊर्जा विकास मार्गचित्रअनुसार २०३५ सम्म नेपालको कल विद्युत् जडित क्षमता २८ हजार ५ सय मेगावाट पु¥याउने लक्ष्य प्राप्तिको लागि विभाग अग्रसर भएको हो।
यसअनुसार हाललाई चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेका १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाहरुको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत् खरिदबिक्री सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय भएको विभागले जनाएको छ।
सोही कारण गत चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेका आयोजनाहरुको विद्युत् खरिदबिक्री सम्झौताको कारबाही अगाडि बढाउन नेविप्रा व्यवस्थापनको यही वैशाख ३० को निर्णयअनुसार विभागले सूचना प्रकाशित गरेको हो। सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अद्यावधिक विवरण÷कागजातहरुसहितको निवेदनसँगै विभागमा सम्पर्क गर्न आयोजनाका प्रवर्द्धक कम्पनीहरुलाई भनिएको छ।
यसअनुसार उनीहरुले सञ्चालनमा रहेका र वित्तीय व्यवस्था भई निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन (अनुमानित निर्माणसम्पन्न हुने मिति समेत मध्यनजर गरी) मार्फत निर्बाध रुपमा विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाको पीपीएको कारबाही अघि बढाइनेछ। त्यसैगरी एन–१ कन्टिन्जेन्सीको अवस्थामा सञ्चालनमा रहेका प्रसारणलाइन तथा सबस्टेसनहरुमार्फत विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाहरुलाई समेत उक्त शर्त सम्झौतामा समावेश हुने गरी पहिलो प्राथमिकतामा राखी पीपीएको कारबाही अघि बढाइनेछ।
त्यस्तै एन–१ कन्टिन्जेनसीको अवस्थामा भएका निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन (अनुमानित निर्माणसम्पन्न हुने मिति समेत मध्यनजर गरी) मार्फत विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाहरुलाई उक्त शर्त सम्झौतामा समावेश हुने गरी दोस्रो प्राथमिकतामा राखी पीपीएको कारबाही अघि बढाउने विभागले उल्लेख गरेको छ।
त्यसपछि प्रस्तावित प्रसारणलाइन तथा सबस्टेसनहरुमा कनेक्सन हुने जलविद्युत् आयोजनाहरुको लाइन तथा सबस्टेसनको वित्तीय व्यवस्थापनको अवस्था साथै निर्माण प्रगतिको अवस्था हेरेर पीपीएको कारबाही अघि बढाउने निर्णय भएको छ।
सामान्य अवस्थामा ओभरलोड भएका प्रसारणलाइन तथा सबस्टेसनहरुमार्फत विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाको हकमा प्राधिकरणको डिस्प्याच इन्स्ट्रक्सनअनुसार विद्युत् खरिद गर्ने शर्त सम्झौतामा समावेश गर्न प्रवर्द्धक सहमत भएमा सोही शर्तअनुसार पीपीएको कारबाही अघि बढाउने विभागले निर्णय गरेको छ।
माथिको शर्त पूरा गरेका इच्छुक आयोजनाहरुले पीपीएका लागि विभागमा आवेदन दिनुपर्नेछ। त्यसका लागि विद्युत् खरिदबिक्रीको निवेदनसँगै कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, उद्योग दर्ताको प्रमाणपत्र, करचुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत् सर्वेक्षणको अनुमतिपत्र बुझाउनुपर्नेछ।
यसबाहेक विद्युत् उत्पादनको अनुमतिपत्र जारी भएको अवस्थामा पीपीए र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने मिति बहाल रहेको विद्युत् उत्पादनको अनुमतिपत्र, अद्यावधिक सेयर लगत विवरण, सञ्चालकहरुको लगत, आयोजना निर्माण तालिका, विद्युत् खरिदबिक्री सम्झौताको मस्यौदा तथा विद्युत् खरिदबिक्री सम्झौतामा हस्ताक्षर गर्न कम्पनीको तर्फबाट हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा पत्र (कम्पनीको निर्णयको प्रतिलिपि) र अद्यावधिक ग्रिड कनेक्सन अग्रिमेन्ट पनि बुझाउनुपर्नेछ।
कुन कुन कम्पनीले पाउँछन् सम्झौता गर्न?
Shares

प्रतिक्रिया