धितोत्रप बोर्डको नेतृत्वले ऊर्जा प्रवर्द्धकहरूसँग कमिसन मागेको विषय व्यापक बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘एक्सन’ लिएको छ।
ऊर्जा प्रवर्द्धकहरूले धितोपत्र बोर्डका अध्यक्षको नामै लिएर केही व्यक्तिले आयोजनाहरूपमा ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको आरोप लगाएपछि अख्तियारले छानबिन सुरु गरेको हो।
मंगलबार र्याडिसन होटलमा ५०/६० जना ऊर्जा प्रवर्द्धकले अनौपचारिक बैठक गरेका थिए। जसमा सहभागी अधिकांशले धितोपत्र बोर्डका अध्यक्षको नाम लिएर केही व्यक्तिले ठुला आयोजनामा ५ प्रतिशत र साना आयोजनामा ७ प्रतिशतसम्म कमिसन मागिएको बताएका थिए।
उक्त विषय सञ्चारमाध्यम र संसद्मै उठेपछि अख्तियारको टोलीले बुधबार धितोपत्र बोर्डको नेतृत्वसँग सोधपुछ गर्दै पाइपलाइनमा रहेका ८९ कम्पनीको विवरण लिएको हो।
‘केही ऊर्जा प्रवर्द्धकहरूले मंगलबार इप्पानका पदाधिकारीसहितको छलफलमा एसएमएस र फोन आएको कुरा बैठकमै उठाएका थिए’, एक प्रवर्द्धकले नेपालखबरसँग भने, ‘अख्तियारले स्वाभाविक रूपमा ती प्रमाण माग्ने भयो। अख्तियारले छानबिन गरी टुंग्याउला।’
इप्पानले आधिकारिक रूपमै धितोपत्र बोर्डका मानिसले रकम मागेको भनी आरोप नलगाएकाले संस्थाभन्दा पनि व्यक्तिसँग प्रमाण मागिएको उनको भनाइ छ।
‘प्राथमिक सेयर निष्कासनको पाइपलाइनमा रहेका व्यवसायीले इप्पानका प्रतिनिधिलाई सुनाएका हुन्,’ ती प्रवर्द्धक भन्छन्, ‘इप्पानले त्यही कुरा धितोपत्र बोर्डको नेतृत्वलाई नै सोध्ने निर्णय गरेको थियो। बोर्ड नेतृत्वले होइन भनेको छ। अब अख्तियारले छानबिन गरी टुंगोमा पुर्याउला।’
Shares

प्रतिक्रिया