कारोबार


सुरु भयो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औँ संस्करण

उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली वस्तु निर्यातमा लाग्न उद्योगमन्त्रीको आग्रह
सुरु भयो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औँ संस्करण

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:२३, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो १०औँ संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट मेला सुरु भएको हो।

मेला वैशाख २९ गतेसम्म चल्ने आयोजकहरुले बताएका छन्। मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका हुन्।

उनले सरकारले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारको लागि काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे। 

उनले  नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए।

“हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ। यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ”, मन्त्री भण्डारीले भने।

उनले हालै संसदमा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए।

मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्‍याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे।

सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन  र मुलुकको आर्थिक विकासमा मेलाले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा थियो।

“मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ”, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने।

नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिए। 

व्यापार तथा निकासी प्रवर्द्धन  केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए।

नेपाल, चीन  र बंगलादेशका गरी १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए।

महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १०औँ संस्करणसम्म आइपुगेको छ। अबका दिनमा यसलाई थप परिष्कृत र परिमार्जन गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको ब्रान्डिङ गर्नुपर्ने बताए। 

मेलामा डिजिटल पेमेन्ट पार्टनर आईएमई पे, अफिसियल इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पार्टनर भायनेट र सपोटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेसन लि., चाइना एक्जिविसन एन्ड फोरम कम्पनी लि., गार्मेन्ट एसोसिएसन नेपाल एक्जिविसन लाइट हाउस, इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रा.लि. रहेका छन्। 

मेलामा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए।

मेलामा नेपालस्थित थाइल्यान्ड र इजरायल, यूएईका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का देशीय निर्देशक  तथा अमेरिका, रुस, पाकिस्तान, बंगलादेशका राजदूतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad