कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्नसकेको छैन।
गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो।
तर, गभर्नर नियुक्ति प्रक्रिया अझै लम्बिने देखिएको छ। किनकि गभर्नरका प्रत्याशी राष्ट्र बैंककै कार्यकारी निर्देशक भट्टको राजीनामा बुधबारसम्म स्वीकृत नभएपछि दुई दलको योजना सफल नहुने देखिएको हो।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति देउवाले अगाडि सारेका गुणाकर भट्टलाई नै गभर्नर बनाउने सहमतिबमोजिम बुधबारसम्मको समय मागेका थिए। ओलीले कामु गभर्नर ढुंगानाले रोकेर राखेको भट्टको राजीनामा स्वीकृत गराउने योजना रहे पनि कामु गभर्नर ढुंगाना निष्क्रिय बसिदिनाले राजीनामा स्वीकृत भएको छैन।
राष्ट्र बैंकका स्रोतहरूका अनुसार ढुंगाना भट्टको राजीनामा स्वीकृत गर्ने पक्षमा छैनन्। उनी आफैँ गभर्नरको प्रत्याशी भएका कारण अन्तिम समयसम्म लड्ने मनस्थितिमा रहेको ढुंगाना नजिकको स्रोतको दाबी छ।
‘म अन्तिमसम्म लड्छु, केही नलागे आफै राजीनामा दिएर हिँड्छु तर भट्टको राजनीनामा मबाट कुनै हालतमा स्वीकृत हुँदैन,’ निलम ढुंगानाको भनाइ उधृत गर्दै एक उच्च अधिकारीले भने।
चौतर्फी दबाब आइरहँदा पनि ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरी अडानमा बस्नुले उनको ब्याकफोर्स प्रधानमन्त्री ओली नै रहेको कांग्रेसवृत्तमा चर्चा छ। ढुंगाना आफ्नो निर्णयमा अडिग रहने भएपछि भट्टको राजीनामा स्वीकृतिको विषय नै ठूलो अन्योलमा धकेलिएको छ।
राजीनामा स्वीकृत नगरी भट्टलाई सरकारले गभर्नरमा नियुक्त गरे अदालत जाने धम्की पनि केही स्वार्थसमूहको देखिएका कारण देउवाले भट्टको राजीनामा स्वीकृत गराएरै गभर्नरमा नियुक्ति दिलाउने प्रयास गरेका हुन्। नेपाली कांग्रेसले बजेटको सन्दर्भमा मंगलबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा पनि देउवाले राष्ट्र बैंकको आन्तरिक कारणले गभर्नर नियुक्ति हुन ढिला भएको बताएका थिए।
उनले के कारण हो नखुलाए पनि कांग्रेसभित्र भने प्रधानमन्त्री ओलीले नै स्वार्थसमूहका मान्छे गभर्नरमा नियुक्त गर्न प्रक्रिया लम्ब्याएको चर्चा बढ्दै गएको छ।अचानक ढुंगाना बलियो हुनुको कारणबारे व्याख्या गर्दै कांग्रेस नेताहरु बालुवाटारमा स्वार्थसमूहको पकड तथा प्रधानमन्त्री ओलीसँगको आत्मीयताका कारण गभर्नर नियुक्ति अझै केही समय नहुने बताउन थालेका छन्।
राष्ट्र बैंकबाहिरबाट गभर्नर बन्ने रेसमा रहेका उम्मेदवार पनि यही बीचमा खेलिरहेका छन्। यदि प्रधानमन्त्री ओली र देउवाले डेपुटी गभर्नर ढुंगानाको चट्टानी अडान ब्रेक गर्न सकेनन् भने राष्ट्र बैंकबाहिरका उम्मेदवार गभर्नर बन्ने सम्भावना पनि देखिएको छ।
यता, एक महिनादेखि राष्ट्र बैंकमा गभर्नर खाली भएपछि केन्द्रीय बैंकभित्रै कामु गभर्नर ढुंगानाको विरोध सुरु भएको छ। मंगलबार मात्रै राष्ट्र बैंकको नेपाल वित्तीय कर्मचारी संघले भट्टको राजीनामा स्वीकृत नगरेको भन्दै ढुंगानाको नेतृत्वक्षमतामै प्रश्न उठाएर विज्ञप्ति निकालेका छन्।
‘गभर्नरका दाबेदार वर्तमान कार्यवाहक नेतृत्वबाट एक जना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ’, संघले विज्ञप्तिमा भनेको छ।
गभर्नरको प्रतिस्पर्धामा पहिलो नम्बरमा रहेकी ढुंगाना अन्तिम समयमा नबन्ने पक्का देखिएपछि उनले आफ्ना प्रतिस्पर्धी भट्टको राजीनामा रोकेको भन्दै उनीविरुद्ध राष्ट्र बैंककै कर्मचारी उत्रिएका हुन्। यसले थप चिढिएकी ढुंगानाले भट्टको राजीनामा अन्तिम समयसम्म स्वीकृत नगरी रोकेकी हुन्।
जसका कारण प्रधानमन्त्री ओली तथा कांग्रेस सभापति देउवाको बिहीबारसम्म गभर्नर नियुक्त गर्ने योजना सफल नहुने भएको हो। यसरी गभर्नर प्रकरणले कांग्रेसभित्र आन्तरिक झगडा सिर्जना गर्न पनि ढुंगानालाई प्रधानमन्त्री ओलीले नै प्रयोग गरेको कांग्रेस नेताहरुको आरोप छ।
अहिले गभर्नर बन्नकै लागि कार्यकारी निर्देशकबाट राजीनामा दिने दुई जना छन्। कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले फागुनमै राजीनामा दिएका थिए भने भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कामु गभर्नर ढुंगानाले दुई जनाकै राजीनामा स्वीकृत गरेकी छैनन्।
चैत २५ गतेबाट गभर्नरविहीन भएको राष्ट्र बैंकको नियुक्तिलाई सहजीकरण नगरेको कर्मचारीकै आक्रोशमा पनि ढुंगानालाई कर्तव्य पूरा नगरेको भन्दै कामुको जिम्मेवारीबाट हटाएर पनि राजीनामा स्वीकृत गराउन सक्ने आधार छ।
अर्थमन्त्री विष्णु पौडेलले राजीनामा स्वीकृत गरेर कर्तव्य पूरा नगरेको भन्दै ढुंगानालाई कार्यवाहकबाट हटाएर अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रलाई त्यो जिम्मेवारी दिन सक्थे। तर, यसैबीच अर्का डेपुटी गभर्नर मिश्र पनि २० दिनको विदा लिएर अमेरिका उडेका छन्। राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले मिश्र ‘फोर्स लिभ’मा बसेको बताए।
मिश्र विदामा बसेपछि राजीनामा स्वीकृत गराउन ढुंगानालाई नै मनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएका कारण पनि गभर्नर नियुक्ति तत्काल हुने सम्भावना टरेको हो।
हुन त सरकारले चाहने हो भने अन्य बाटो पनि हुनसक्छ तर प्रधानमन्त्री ओलीकै निर्देशनमा भट्टलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा गएको भन्ने बुझाइ कांग्रेस नेताहरुको छ। गभर्नर नियुक्ति प्रकरणले यो गठबन्धनको औचित्य नै सकिएको समेत उनीहरुले बताउन थालेका छन्। शेखर कोइरालाले त वर्तमान गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिनुपर्ने बताउन थालिसकेका छन्।
किनकि अर्थतन्त्र सकसमा रहेको बेला केन्द्रीय बैंकलाई नेतृत्वविहीन बनाएर सरकारले वित्तीय क्षेत्रप्रति बेवास्ता मात्र गरेको छैन, सरकार स्वार्थसमूहको अगाडि कतिसम्म विवश छ भन्ने पनि देखाएको छ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारी चैत २३ गते राष्ट्र बैंकबाट विदा भएका थिए। उनी बाहिरिएसँगै चैत २५ गते नै कामुको जिम्मेवारीमा ढुंगाना नियुक्त भएकी थिइन्। ढुंगानालाई एमाले सरकारले नै डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। कामु गभर्नर बनेपछि भट्टको पक्षमा दुई सत्तासाझेदार दल नै आगामी गभर्नर बनाउने सहमतिमा पुगेपछि उनले राजीनामा रोक्दै आएकी हुन्।
सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको विषयमा पनि विवाद रहँदै आएको छ। अधिकारी गभर्नर रहँदै सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेलसम्मिलित सिफारिस समिति गठन गरेको थियो। पूर्वगभर्नर भट्टराईले सिफारिस समिति सदस्यबाट वैशाख ९ गते राजीनामा दिएका थिए।
उनको राजीनामापछि सरकारले वैशाख १७ गते सिफारिस समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई थपेको थियो।
उनलाई वैशाखमा नियुक्त गरे पनि गभर्नर हुँदा नै सिफारिस समिति गठन भएको भन्दै उनको नियुक्ति अवैधानिक रहेको आवाज पनि उठ्न थालेको छ। यसले अधिकारीको नियुक्तिमाथि पनि सर्वोच्च अदालतमा रिट पर्ने सम्भावना बढेको छ।
Shares

प्रतिक्रिया