विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण संकटमा परेको छ। विश्वका शक्तिशाली र आर्थिक सम्पन्न मुुलुकहरु यस संकटको चपेटामा परेका छन्।
आर्थिक सम्पन्न भएका र रोजगारी प्रदान गरिरहेको यी मुलुक संकटमा पर्दा त्यसको सिधा असर नेपाललाई पर्छ। यसको कारण हो, मुलुक रेमिट्यान्सबाट चलिरहेको छ।
यस्तो अवस्थामा कोरोना भाइरसको प्रकोपका कारण यसले मुलुकमा आउने रेमिट्यान्सलाई कति असर गर्ने हो भन्ने अनुमान गर्न गाह्रो छ।
नेपालीहरु रोजगारीको प्रमखु गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण छ तर अन्य मुलुकमा जस्तो प्रभाव भने अझै देखिएको छैन।
मलेसिया, साउदी अरब, दुवई, कतार, बहराइनलगायतका खाडी मुलुकसहित जापान, कोरियामा पनि कोरोनाको प्रभाव छ। मलेसिया र खडी मुलुकमा अहिले पनि पूर्णरुपमा बन्द नभए आंशिक ‘लकडाउन’को अवस्था छ।
भीडभाड हुने ठूला कलकारखान, पसल, रेष्टुरेन्टहरु बन्द छन् भने कतार लगायतका मुलुकमा पूर्वाधार निर्माण कार्य भने देशबाट वर्षेनी खर्बौं रुपैयाको रेमिट्यान्स आउँछ।
अहिले नै नेपालमा आउने रेमिट्यान्समा कति प्रभाव पर्ला भनेर एकिन भन्न नसकिने नेपाल सरकारका पूर्वअर्थसचिव तथा अर्थविद् रामेश्वर खनाल बताए।
मलेसिया, खाडीलगायतका मुलुकमा कोरोनाको प्रभाव कति भन्ने एकीन नभई रेमिट्यान्सको आंकलन गर्न नसकिने उनको भनाइ छ।

‘अहिलेसम्म त खासै असर पर्दैन कि भन्ने थियो’, नेपालखबरसँग कुरा गर्दै खनालले भने, ‘कोरोनाको इपिसेन्टर सर्दै सर्दै गएकाले यसले खाडी मुलुकलाई कति प्रभाव पार्ला भन्नेमा भर पर्ने भयो।’
चीनको हुबेई प्रान्तबाट सुरु भएको कोभिड–१९ एकपछि अर्को मुलुकमा प्रभाव पर्दै गएको छ। चीनपछि इरानमा धेरै देखिएको यो भाइरस त्यसपछि इटाली, स्पेन, फ्रान्स हुँदै अहिले अमेरिकालाई आक्रान्त पारेको छ।
घट्नुका सट्टा एकपछि अर्को मुलुक जोखिममा परिरहेको अवस्थामा खाडी मुलुक त्यसको चपेटामा कति पर्छ भन्नेमा नेपालको रेमिट्यान्स भर पर्छ। नेपालको धेरै रेमिट्यान्स आउने खाडी मुलुकहरुको व्यापारिक सम्बन्ध सिधै इरानसँग छ।
इरान कोरोना भाइरसबाट अति प्रभावित भएको मुलुक हो। खाडी मुलुकहरु इरानको सम्बन्धबाट बचेर काम गर्न सकेनन् भने यिनीहरुमा कोरोनाबाट आगामी दिनमा पनि प्रभावित हुन सक्छन्।

खाडी मुलुकहरु कोरोनबाट अति प्रभावित भए भने उनीहरुले त्यहाँ रहेका नेपालीलाई घर फर्काउन सक्ने सम्भावना रहेको खनाल बताउँछन्।
‘त्यस मुलुकमा नेपालीहरु समूह समूहमा बसिरहेका छन्। यदि कारोना त्यहाँ फैलिने हो भने नेपालीहरुलाई जोखिम भयो भनेर फर्काउन सक्छ’, खनालले भने, ‘त्यो अवस्थामा नेपालमा आउने रेमिट्यान्समा धक्का लाग्छ।’
नेपालमा आउने रेमिट्यान्समा कति असर गर्छ र त्यसले मुलुकलाई कति प्रभाव पार्ला भन्ने अनुमान वैशाखपछि मात्र गर्न सकिने खनालको भनाइ छ।
अहिलेसम्म मलेसिया, कतारलगायतका खडी मुलुकले कुनै पनि कामदारको ज्याला नकाट्ने भनेको छ। यही अवस्था रहेमा उनीहरुले पाउने तबल काटिनेछैन। जसले गर्दा मुलुकमा आउने रेमिट्यान्स पनि फरक नपर्न सक्छ।
यदि संकट लम्बिँदै जाने र खाडीमा प्रभाव पर्ने हो भने नेपालीले कमाएको पैसा आफैँ खर्च गर्नुपर्ने अवस्था आउने सक्छ। यस्तो अवस्था भएमा उनीहरुले पठाउने रकम कम हुँदै जान्छ।

अर्थमन्त्री युवराज खतिवडाले नेपालमा आउने रेमिट्यान्स नघट्ने बताउँछन्। एक अन्तर्वार्तामा मन्त्री खतिवडाले कोरोना सङ्क्रमणको जोखिम घट्दै गएर काममा फर्केपछि त्यसको असर पर्ने भएकाले रेमिट्यान्स गत वर्षको तुलनामा नबढ्ने तर अघिल्लै वर्षको हाराहारीमा रहने बताए।
उनले यो वर्षको रेमिट्यान्स आठ खर्बको हाराहारीमा रहने अनुमान गरे।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालमा ५१३ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको सोही अवधिको भन्दा ०.५ प्रतिशतले कमी हो।
गत वर्षको सोही अवधिमा रेमिट्यान्स २८.५ प्रतिशतले वृद्धि भएको थियो।
नेपालका लागि अवसर हुन सक्छ
कोरोना भाइरसको विश्वव्यापी संक्रमणलाई नेपालको तर्फबाट हेर्दा दुई किसिमको प्रभाव पर्ने खनालको भनाइ छ। पहिलो हो, विदेशका कामदार नेपाल फर्केर यही बस्ने वातावरण बन्न सक्छ।
बाह्य मुलुकमा अनिश्चितता बढ्दै जाने र कामदार पनि असुरक्षित महसुस गर्दा बरु स्वदेशमै बस्नु ठीक भन्ने सोच आउन सक्छ।
सबै नेपाली मुलुकमा रोजगारी नपाएर विदेश गएका हैनन्। जो नेपालमा पनि भन्दा राम्रो आम्दानी हुने र एक पटक बाहिर घुम्न पनि पाइने भन्ने सोच राखेर गएकाहरु फर्केर नजाने अवस्था सृजना हुन सक्छ।

‘विदेशमा अनिश्चित हुँदै गएमा बाहिर गएका नेपाली कामदार स्वदेश फर्केर गाउँमा पुरानै काममा फर्कन सक्ने हुनुक्छ,’ खनालले भने, ‘यसो भएमा पहाडका खाली जग्गा फेरि हराभरा हुनसक्छन्।’
सस्ता कामदारको खोजी
विश्वव्यापी फैलिएको कोरोना भाइरस संकटपछि आर्थिक सम्पन्न भएका मुलुकमा नयाँ अवसर पनि सृजना हुन सक्ने खनालको विश्लेषण छ।
‘विश्वका हरेक संकटपछि आर्थिक सम्पन्न मुलुकले कन्स्ट्रक्सन लगायतका काम गरेर पुरानै अवस्थामा फर्कने गरेका छन्,’ खनालले भने, ‘कोरोना संकटपछि पनि त्यस्ता मुलुकमा नयाँ कामदारको खोजी हुन सक्छ।’
संकटपछि तीव्ररुपमा काम गर्ने तर सस्ता कामदारको खोजी गर्ने परम्परा भएकाले त्यो अवसर नेपाली कामदारको लागि हुनसक्ने उनको भनाइ छ। त्यसो भएमा दक्षिण कोरिया, मलेसिया, बहराइन, साउदी अरब जस्ता मुलुकमा नेपाली कामदारले थप अवसर पाउन सक्छन्।
‘नेपालमै बसेर काम गर्ने वा नयाँ अवसरमा आउने भन्ने एकीन अहिले नै भन्न सकिँदैन,’ खनालले भने, ‘केही महिनामा यसको संकेत देखिनेछ।’

प्रतिक्रिया