काठमाडौं—कतारमा रहेका नेपाली कामदारले कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन क्वारेन्टिन र आइसोलेसनमा बसेको समय अवधिको पूरा तलब पाउने भएका छन्।
कोरोना संक्रमणलाई फैलिन नदिन कतार सरकारले लिएका निर्णयले नेपाली कामदारको काम रोकिएको थियो। उनीहरुलाई क्वारेन्टिन तथा संक्रमित शंका हुनेहरुलाई आइसोलेसनमा राखिएको थियो।
कतारमा आप्रवासी कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई १४ दिन लकडाउन गरिएको थियो। त्यहाँ करिब ५० हजार नेपाली कामदार छन्। काम रोकेर क्वारेन्टिनमा बस्नुपरेपछि अन्याैल भइरहँदा बिहीबार कतार सरकारको यो निर्णय आएको हो। निर्णयबाट रोजगारीका लागि त्यहाँ रहेका करिब ४ लाख नेपालीले राहत पाउनेछन्।
‘कारोनाका कारण क्वारेन्टिन र आइसोलेसनमा बसेको अवधिको पूरै तलब दिने कतार सरकारको निर्णय भएको छ। यो अवधिका लागि उनीहरुको तलब रोकिँदैन’, दोहाास्थित नेपाली दूतावासका उपनियोग प्रमुख लक्ष्मण खनालले नेपालखबरसँग टेलिफोनमा भने, ‘कोरोनाका कारण नेपाली कामदारको अवस्था नाजुक अवस्थामा पुगेको भनेर दूतावासले सम्बन्धित कतारी निकायसँग सञ्चार गरिरहेका छौं, त्यसमा एउटा निर्णय आएको हो।’
यसअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सबै रोजगारदाता कम्पनीहरुले कामदारलाई पूरै तलब दिन निर्देशन दिएको थियो। ‘कामदारलाई तलब दिनका लागि साना तथा मझौला कम्पनीहरुलाई ३ अर्ब कतारी रियल राहत उपलब्ध गराइएको छ’, मन्त्रालयका सहायक उपसचिव मुहम्मद हस्सन अल ओबैदलीले भने, ‘कम्पनीहरुले राहत रकम बैंकबाट ऋण स्वरुप लिन सक्नेछन्। श्रमिकको तलब सुविधा पनि बैंकमार्फत नै दिनुपर्दछ।’
कोरोना संक्रमणको त्रास फैलिएसँगै कतारले सरसफाई कम्पनीबाट घरको काम गर्न पठाउने काम समेत रोकेको थियो। कतारका कतिपय कम्पनीले महिलालाई घन्टा वा दिनभरि घरेलु कामको लागि घरघरमा पठाउँदै आएका थिए। यसमा नेपाली महिलाको बाहुल्यता छ। कोरोनाका कारण उनीहरु प्रभावित भएका छन्। यो निर्णयबाट उनीहरु लाभान्वित हुनेछन्।
कोरोना संक्रमण देखिनासाथ कतारले नेपालीसहितका कामदार बस्ने सनैयामा लकडाउन गरेको थियो। त्यहाँको सडक नै सिल गरेर लकडाउन गरिएको थियो। सो निर्णयपछि त्यहाँ बसोबास गर्ने करिब ५० हजार नेपाली प्रत्यक्ष रुपमा प्रभावित भएका थिए। कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो।
कतारमा बिहीबारसम्म कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। ८३५ अझै संक्रमित छन्। उपनियोग प्रमुख खनालले नेपालखबरसँग भने, ‘टेस्ट तथा उपचारको समेत प्रबन्ध उनीहरूले नै मिलाएका छन्। कतारमा अहिलेसम्म कोरोना संक्रमित नेपाली भेटिएको जानकारी छैन।’
सावधानी अपनाउन दूतावसको आग्रह
यसैबीच नेपाली दूतावासले कोरोना भाइरस संक्रमणाट जोगिन सुरक्षा सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि वा जनावर छोएपछि अनिवार्य हात धुन अनुरोध गरेको छ। साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन पनि दूतावासले आग्रह गरेको छ। हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुपमाल प्रयोग गर्न भनिएको छ।

प्रतिक्रिया