अघिल्ला दुई आर्थिक वर्षमा ऋणात्मक रहेका अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने तीन मुख्य क्षेत्रमा चालू वर्ष भने धनात्मक वृद्धि हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार निर्माण, व्यापार र उद्योग क्षेत्रमा यस वर्ष सकारात्मक वृद्धि हुने अनुमान छ।
निर्माण क्षेत्र चलायमान नहुँदा उद्योग र व्यापार क्षेत्रमा पनि नकारात्मक प्रभाव परिरहेको थियो।
चालू आर्थिक वर्षमा भटमासको कच्चा तेल आयात भई निर्यात समेत बढ्दा औद्योगिक क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ।
चालू आवमा कार्यालयले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वार्षिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ। आधारभूत मूल्यका आधारमा भने ३.९९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।
कुन क्षेत्रमा कति वृद्धिको अनुमान?
कार्यालयका अनुसार निर्माण क्षेत्र यस वर्ष २.२१ प्रतिशतले विस्तार हुने अनुमान छ।
‘निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरुको उत्पादनमा भएको वृद्धिले निर्माण क्षेत्र सुधारोन्मुख भएको देखिन्छ’, राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदनमा भनिएको छ, ‘०८०/०८१ मा २.२० प्रतिशतले ऋणात्मक वृद्धि रहने संशोधित अनुमान गरिएको छ। ०७९/०८० मा पनि यो क्षेत्र १.४८ प्रतिशतले ऋणात्मक थियो।’
थोक तथा खुद्रा व्यापारको वृद्धिदर अघिल्ला २ वर्षमा ऋणात्मक रहेकामा चालू आर्थिक वर्षमा ३.३० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा ०.३६ प्रतिशत र ०७९/०८० मा ४.१० प्रतिशत ऋणात्मक रहेकोमा सुधार भएको हो।
अघिल्ला २ वर्ष लगातार ऋणात्मक रहेको उद्योग क्षेत्र पनि यस वर्ष ३.७८ प्रतिशतले बढ्ने अनुमान छ भने आव २०८०/०८१ म २.०२ प्रतिशत वृद्धिदर ऋणात्मक रहने तथ्यांक कार्यालयको संशोधित अनुमान छ। आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार १.७० प्रतिशत ऋणात्मक वृद्धि रहेको थियो।
‘खासगरी वनस्पति तेल, प्लाइउड, प्लास्टिकको पाइप फिटिङ्ग, पेय पदार्थ, सिमेन्ट, साबुनलगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले सुधार आउने प्रारम्भिक अनुमान छ’, प्रतिवेदनमा भनिएको छ, ‘भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रमा सकरात्मक प्रभाव परेको छ।’
चालू आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्यअभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युतको वृद्धिदर १३.८२ प्रतिशत हुने अनुमान गरिएको छ। दोस्रोमा यातायात तथा भण्डार क्षेत्रको वृद्धिदर ९.४५ प्रतिशत रहने अनुमान छ।
सबैभन्दा कम वृद्धिदर शिक्षा १.९८ प्रतिशत र खानी तथा उत्खनन १.९९ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरिएको छ।
उद्योगको वृद्धि ३.७८ प्रतिशत, पानी, आपूर्ति, ढल, फोहोर व्यवस्थापन २.०९, निर्माणको २.२१ प्रतिशत, थोक तथा खुद्रा व्यापार ३.३०, सूचना तथा सञ्चार ४.८१, वित्तीय तथा बीमा क्षेत्र ६.२९ प्रतिशत, घरजग्गा कारोबार २.७२, प्रशासनिक तथा सहयोगी सेवा ३.९७, सार्वजनिक प्रशासन तथा रक्षा २.२४, मानव स्वास्थ्य ४.७७ प्रतिशत र अन्य सेवा ३.९२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।
गत आर्थिक वर्ष आवास तथा भोजनालयको वृद्धिदर २१.०३ प्रतिशत रहेको थियो। त्यसअघि १८.०३ प्रतिशत रहेकोमा अहिले वृद्धिदर घटेर आवास तथा भोजन सेवाको वृद्धिदर ५ प्रतिशत मात्र हुने अनुमान छ।
जीडीपीमा कुनको योगदान कति?
कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी छ। दोस्रोमा थोक तथा व्यापार क्षेत्रको १४.५५ प्रतिशत, तेस्रोमा सार्वजनिक प्रशासन तथा रक्षाको ८.७२ प्रतिशत, घरजग्गा कारोबारको ८.२९ प्रतिशत योगदान छ।
यसैगरी, शिक्षा क्षेत्रको ७.८७ प्रतिशत, यातायात भण्डारणको ७.२० प्रतिशत, वित्तीय तथा बीमाको ६.६५ प्रतिशत, आवास तथा भोजन सेवाको २.४६, निर्माणको ५.२४ प्रतिशत योगदान छ।
यीबाहेक पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्रको ०.४२ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रको ०.४६ प्रतिशत मात्र योगदान छ।
Shares

प्रतिक्रिया