कारोबार


साढे ८ करोडमा निर्मित कञ्चनपुरको सभागृह सात वर्षसम्म प्रयोगविहीन

साढे ८ करोडमा निर्मित कञ्चनपुरको सभागृह सात वर्षसम्म प्रयोगविहीन

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १६:१, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह प्रयोगविहीन बनेको छ। विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन। 

तीनतले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ। तर निर्माण सम्पन्न भएको सात वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेको सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ। तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ। सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन। निमार्ण सम्पन्न भएको वर्षौंसम्म सभागृह सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ।

नगरपालिकाको नेतृत्वले चासो नदिदा करोडौँ लगानीमा निमार्ण भएको सभागृह जीर्ण बन्दै गएको यहाँका स्थानीय बताउँछन्।

‘तत्कालीन नगरविकास समितिले जुन उद्देश्यका साथ सभागृह निमार्ण गरेको त्यही उद्देश्यअनुरुप सभागृह सञ्चालनमा आउनुपर्छ’ यहाँका स्थानीय विष्णुप्रसाद जोशीले भने, ‘राज्यको करोड लगानी भएको संरचना प्रयोगविहीन बन्नुहुँदैन।’

कञ्चनपुरमा सभागृह नहुँदा ठूला कार्यक्रम सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ छ।

‘निमार्ण सम्पन्न भएको सातवर्ष पुग्न थाल्यो अझैपनि सञ्चालनमा आउन सकेको छैन’ स्थानीय टेक सिंह नायकले भने, ‘सभागृहको कतिपय ठाउँमा भवन नै चर्किएको छ ढोका र झ्याल फुटेका छन्।’

उनले सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भएकाले पालिकाले सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताए।  

भीमदत्त नगरपालिकाले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

‘सभागृह सञ्चालनका लागि मापदण्ड बनाएर नगर विकास समितिको बैठकबाट पास गर्नुपर्छ’ नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले भने, ‘नगर विकास समितिकै बैठक बस्न सकेको छैन।’

नगरपालिकाले यसअघि सभागृह सञ्चालनका लागि समिति बनाएर अध्ययन गरेको थियो। उक्त समितिले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर नगरपालिकालाई दिइसकेको छ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघाह जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ। अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता छ ।

२०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु एक करोड ७० लाख बढाएर रु आठ करोड ५१ लाखमा सभागृह निमार्ण सम्पन्न भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad