पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला प्रकरणबारे टिप्पणी गरेका छन्।
नेकपा माओवादी केन्द्रका नेता किराँतीले कानुनविपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुने उल्लेख गर्दै निर्णय गर्ने व्यक्ति जेल जानुपर्ने बताएका हुन्।
यस क्रममा उनले मन्त्री पदमा रहेका बेला आफूलाई पनि धरानमा विमानस्थल बनाउन मन लागेको तर जेल जाने काम गर्न नचाहेको व्यंग्य पनि गरेका छन्।
‘साथीहरू फेरि भन्छु। म धरानमा विमानस्थल बनाउन चाहन्थेँ तर काम भावनाले मात्र हुँदैन रहेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुनबमोजिम काम गर्नुपर्ने हुन्छ। यदि कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुन जान्छ’, पूर्वमन्त्री किराँतीले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै बेला त्यो भ्रष्टाचार प्रमाणित भएपछि निर्णय गर्ने व्यक्ति जेल जानुपर्छ।’
कुनै पनि ठूला योजना सञ्चालन गर्नुअघि अनिवार्य रूपमा प्राविधिक, आर्थिक, व्यापरिक र वातावरणीय अध्ययन गर्नुपर्ने अन्यथा त्यो परियोजना नचल्ने उल्लेख गर्दै कुनै व्यक्तिले हचुवामा अवैज्ञानिक ढंगले ठूलो परियोजना सुरु गर्दा राज्यको सम्पत्ति दुरपयोग भएको र निर्दोष नागरिकको थाप्लोमा ऋण थपिएको बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘हाम्रो अगाडि आज पोखरा विमानस्थल चर्चाको शिखरमा छ। कति-कति खानलाई, कस-कसले खानलाई, त्यो विमानस्थल निर्माण भयो? जे-जति खाए वा खाएनन् त्यो छानबिनले प्रमाणित गर्ला, अनुभवले देखाउँछ- खानेहरू समाजमा महान् छन्, खुवाउनेहरू सबै गधा भए। अर्थात् ठूला माछाहरू यतिबेला समुद्रमा खेल्दै छन्, खुवाउने साना माछाहरू तेलमा फ्राई हुन लागेका छन्। मैले फ्राई हुनु थिएन। जेल जानु थिएन। देशको सम्पत्ति दुरपयोग गर्नु थिएन। जनतालाई ऋणको भारी बोकाउनु थिएन। धरानमा विमानस्थल बनाउनु नसकेकोमा म असाध्य दु:खी छु तर नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागि अन्त्य गर्न सकेको छु। फेरि ठूलो स्वरमा एकपटक भन्छु- म दु:खी छु।’

हालै मात्र संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।
यसपछि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए।
उनले सोमबार (वैशाख ८ गते) सामाजिक सञ्जालमा लेखेका छन्, ‘म २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो। उक्त समयमा पोखरा र भैरहवा विमानस्थलबारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेराविरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ। सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितिको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पिस छन भन्ने मैले राम्ररी बुझेको छु। मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ। मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन। डकुमेन्ट मसँग छ। आवश्यक परे सार्वजनिक गरौँला।’

Shares

प्रतिक्रिया