ad ad

कारोबार


हारालुछमै सकियो खाद्य कम्पनीको इन्डक्सन चुल्हो

हारालुछमै सकियो खाद्य कम्पनीको इन्डक्सन चुल्हो

दीपक भट्ट/प्रविन कोइराला
चैत १८, २०७६ मंगलबार ११:३२,

चार वर्षअघि चीनबाट ल्याइएका सबै इन्डक्सन चुल्हो बिक्री भएका छन्। कोरोनाको प्रभावले ग्यासको समस्या भोगेका उपभोक्ताले करिब ६ हजारवटा चुल्हो हारालुछ गरेर खरिद गरेका हुन्।

चुल्हो बिक्रीकर्ता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले साउनयता बिक्री थालिए पनि कोरोनाको प्रभाव देखिनथालेपछि मात्रै उक्त संख्यामा बिक्री भएको जनाएको हो।

कम्पनीका विभागीय प्रबन्धक श्रीमणिराज खनालका अनुसार करिब ६ हजार चुल्हो कोरोनाका कारण सरकारले आह्वान गरेको लकडाउन अवधिमा बिक्री भएको हो। मंगलबारदेखि कम्पनीमा रहेका सबै इन्डक्सन बेचेर सकिएको उनले जानकारी दिए।

induction khadya 2

उनले भने, ‘खाद्य व्यवस्था कम्पनीले साउन मसान्तदेखि इन्डक्सन चुल्हो बिक्री गर्न थालेको हो। हामीलाई उपलब्ध गराएइको ७ हजार ३ सय ४० वटा चुल्हो थियो। उक्त चुल्हो कोरोनाको प्रभावले अत्यधिक माग भई आजदेखि सकिएको छ।’

साउनदेखि खाद्य व्यवस्था कम्पनीले बिक्री गरे पनि फाट्टफुट्ट मात्रै बिक्री हुने गरेको थियो। तर कोरोनाको प्रभाव नेपालमा देखिएसँगै ग्राहकले ग्यास अभावको डरले बिजुली चुल्हो रोजेको उनले बताए।

induction khadya 3

‘भाइरसको त्रास जब यहाँ पनि देखियो, यसको माग ह्वात्तै बढ्यो’, नेपालखबरसँग खनालले भने, ‘कोरोनाको प्रभावले नेपालमा फागुन मध्यदेखि ग्यासको अभाव हुनथालेका कारण त्यसपछि इन्डक्सनको माग बढ्नथालेको थियो।’

कम्पनीमा रहेका ७ हजार ३ सयमध्ये करिब ६ हजार हाराहारीमा इन्डक्सन बिक्री भएको छ। योभन्दा अघि पनि टोल–टोलमा गएर कम्पनीले चुल्हो बिक्री गरेको थियो। तर त्यतिबेला इन्डक्सन किन्ने विरलै भेटिन्थे। अहिले भने थापाथलीमा रहेको खाद्य कम्पनीको गोदाममा मान्छेहरुको भीड लागेको खनालले जानकारी दिए।

induction khadya 4

बिजुलीमा छुट र ग्यासको समस्या मुख्य कारण
सरकारले विद्युत् महसुलमा छुट दिने घोषणा गरेपछि इन्डक्सनतर्फ उपभोक्ताको आकर्षण बढेको हो। ऊर्जामन्त्री वर्षमान पुनले इन्डक्सन चुल्हो प्रयोगकर्ताहरुले विद्युत् महसुल छुट पाउने घोषणा केही दिनअघि मात्रै गरेका थिए।

घोषणासँगै इन्डक्सन चुल्हो प्रयोगकर्ताहरुलाई नै लक्ष्य गरी सरकारले योजना ल्याउन नसके पनि १५० युनिटसम्म विद्युत् प्रयोग गर्दा महसुलमा २५ प्रतिशत छुट पाउने योजना भने ल्याएको छ।

यसले सर्वसाधारणलाई इन्डक्सन चुल्हो प्रयोगमा हौस्याएको छ। सरकारले आइतबार उक्त घोषणा गरेपछि सोमबार कम्पनीमा इन्डक्सन किन्नेको भीड देखिएको थियो।

induction12

४ वर्षअघिदेखि गोदाममा
इन्डक्सन चुल्हो २०७२ सालमा सरकारले चीनबाट आयात गरेको हो। उक्त समयमा भारतले नाकाबन्दी गर्दा ग्यास अभाव भएको थियो। विद्युतीय चुल्हो ग्यासको विकल्पको रुपमा सरकारले ल्याएको हो।

सुरुमा सरकारले यसको मूल्य ११ हजार ३ सय रुपैयाँ निर्धारण गरेको थियो। तर उपभोक्ताले यसमा रुचि राखेनन्। पछि मूल्य समायोजन गर्यो। तर त्यतिखेर ग्यासको सहज आपूर्ति हुन थालिसकेको थियो।

induction khadya 5

उक्त समयमा नेशनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले टेकुबाट यसको बिक्री गथ्र्यो। गत वर्ष सरकारले खाद्य संस्थान र नेशनल ट्रेडिङ मर्ज गर्ने निर्णय गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनायो।

त्यसपछि यसको बिक्री थापाथलीबाट हुँदै आएको छ। साबिकको नेशनल ट्रेडिङको मुख्य कार्यालय र उक्त परिसरको जग्गा नेपाल आयल निगमले खरिद गरिसकेको छ।

सबै तस्बिरः प्रविन कोइराला

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .