कारोबार


अर्थतन्त्र सुधारका प्रयास सकारात्मक छन्, यतिले मात्रै पुग्दैनः अध्यक्ष ढकाल

अर्थतन्त्र सुधारका प्रयास सकारात्मक छन्, यतिले मात्रै पुग्दैनः अध्यक्ष ढकाल

नेपालखबर
चैत २८, २०८१ बिहिबार १४:२०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरुको चाहना पूरा गर्न पर्याप्त नरहेको बताएका छन्।  

बिहीबार महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रतिकूलतामा अनुकूलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताएका हुन्। 

उनले देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए।

‘व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकूलतामा अनुकूलता खोज्ने उद्यमी हुँ। म निराशा हैन आशा छर्न चाहन्छु। अवस्था सुधारोन्मुख छ। तर हाम्रा युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन। जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिँदैन,' उनले भने, 'अहिले व्याप्त निराशा त्यसैको परिणाम हो । हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सिमितता छ। अहिले करिव पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ। निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ। तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन। त्यस कारण युवाहरु जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन्।'

अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्ने बताए। वर्तमान सरकारको मुख्य एजेन्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको उनको भनाइ छ। 

‘अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्छ। अब म बुँदागत रुपमा यहाँहरुलाई हामीले के गर्नसक्छौँ ? त्यो कसरी सम्भव छ? र सरकार लगायतका सरोकारवालाहरुको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु,' उनले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यु र वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्‍यो। त्योभन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ। जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ। पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन्, एउटा सरकार र दोस्रो निजी क्षेत्र।'
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad