कारोबार


नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच व्यवसाय अभिवृद्धि समझदारीमा हस्ताक्षर

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच व्यवसाय अभिवृद्धि समझदारीमा हस्ताक्षर

नेपालखबर
चैत २०, २०८१ बुधबार ११:४०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ। दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका हुन्।

समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

द्विपक्षिय समझदारीअन्तर्गत दुवै पक्षले व्यापार प्रवर्द्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यापार मेला, व्यवसायिक फोरम र विशेष आर्थिक कार्यक्रममा सहभागितालाई प्रोत्साहन गर्ने विषय समझदारीपत्रमा समावेश गरिएको छ।

यस्तै विवाद समाधान प्रणालीलाई प्रवर्द्धन गर्ने र प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषय पनि समझदारीपत्रमा उल्लेख छ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल-थाइल्यान्डबीच भएको यस समझदारीले नेपाल र थाइल्यान्डबीचको आर्थिक सहकार्यका लागि नयाँ आधारशिला तयार गरेको धारणा राखे।

‘दुई देशबीच व्यापार व्यवसायको सहकार्यका पर्याप्त सम्भावना छन्। महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीचको आपसी सहकार्यको व्यापार र लगानीका लागि नयाँ अवसरहरू खोल्ने विश्वास छ। जसले दुवै राष्ट्रका व्यवसायहरूलाई फस्टाउने अवसर प्रदान गर्नेछ,’ ढकालले भने।

यस्तै थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष अंगुबोल्कुलले यो साझेदारीले दुवै देशका व्यापारिक समुदायका लागि नयाँ अवसर सिर्जना गर्ने बताए।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारीपत्र तीन वर्षसम्म लागू हुनेछ र नेपाली तथा थाई व्यवसायबीच निरन्तर सहकार्यका लागि एक मजबुत आधारका रूपमा काम गर्नेछ।

महासंघले थाइल्यान्डको बोर्ड अफ ट्रेडसँग मिलेर यस सम्झौताका लक्ष्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न तथा आपसी सहकार्यका नयाँ सम्भावनाहरू खोज्न तत्पर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad