साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ।
आइतबार बजार परिसूचक नेप्से २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा पुगेको हो।
योसँगै बजारमा आज ७ अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ।
बजार खुलेर बन्द हुँदासम्म १ करोड ५५ लाख ७२ हजार कित्ता सेयर बिक्री भएको हो। यस दिन २२२ वटा सेयरका धनीहरुले कमाउँदा २२ वटाका धनीले गुमाउनुपरेको छ।
नेप्सेका अनुसार जोशी हाइड्रोपावरका सेयरधनीले ९.९७ प्रतिशत, दोर्दी खोला हाइड्रोका सेयरधनीले ६.९४ प्रतिशत, कुमारी सबल योजनाका सेयरधनीले ६.३९ प्रतिशत, तेह्रथुम पावर कम्पनी र गुराँस लघुवित्तका सेयरधनीले क्रमशः ६.२४ प्रतिशत र ६.१९ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्।
तर प्रभु स्मार्ट फन्ड (५.७९ प्रतिशत), सयपत्री हाइड्रोपावर (३.८९ प्रतिशत), सामुदायिक लघुवित्त (२.२१ प्रतिशत), बोटलर्स नेपाल (बालाजु)का सेयरधनीले (२ प्रतिशत) भने प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी ६९ करोडको कारोबार भएको थियो। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ४७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड, सीईडीबी होल्डिंग्सको २४ करोड र गार्डियन माइक्रो लाइफको १७ करोडको सेयर कारोबार भएको छ।
सकारात्मक उतारचढाव, लगानीकर्ताको सक्रियता
आज बजारमा उतारचढाव सकारात्मक देखियो। यो दिन सूचकले अधिकतम विन्दु २७१८ छोएर फर्किए पनि २६८५ भन्दा तल गएन।
गत साताको मंगलबार २५८१ अंकमा टेवा पाएर फर्किएको नेप्सेले त्यसपछिका तीन कारोबार दिनहरुमा निरन्तर उकालो यात्रा गरिरहेको छ।
आइतबार पनि बजारलाई लगानीकर्ताले खरिद बढाएर उचाल्न खोजेका थिए। कारोबार सुरु भएको १५ मिनेटमा लगानीकर्ताले बीबीसी (विशालबजार)जस्ता ठूला कम्पनीहरुमा सेयर खरिद माग बढाएर सूचकलाई बढाउन मद्दत पुर्याएसँगै साना भोल्युम भएका कम्पनीहरुको माग बढ्न थाल्यो।
बजारलाई उकालो यात्रामा लैजान आज धेरै कित्ता भएका बजारलाई प्रभाव पार्न सक्ने कम्पनीहरुले महत्वपूर्ण भूमिका खेले। यद्यपि सूचकले अधिकतम विन्दुमा भने टिकिरहन सकेन। त्योसँगै २७१८ अंकमा पुगेको नेप्से २६९३.१२ अंकमा आएर बन्द हुन पुग्यो।
सेयरबजारलाई प्रत्यक्ष प्रभाव पार्ने गभर्नर नियुक्तिको विषय चर्चाको शिखरमा छ। लगानीकर्ताले खासै नरुचाएका गभर्नर महाप्रसाद अधिकारी जाने र नयाँ गभर्नर आउने समयमा लगानीकर्ताको सक्रियता बजारमा देखिन थालेको हो।
Shares

प्रतिक्रिया