कारोबार


हवाई टिकटमा लगाइएको कर हटाउन माग

हवाई टिकटमा लगाइएको कर हटाउन माग

नेपालखबर
चैत १४, २०८१ बिहिबार १९:२२, काठमाडौँ

हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन्। 

साथै व्यवसायीले हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिकहरू विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको भन्दै नेपाल आगमनलाई सहज बनाउन आग्रह गरे। टिकट महँगिएकै कारण नेपाल आगमन हुने विदेशी पर्यटकमा असर परेको व्यवसायीको दाबी छ। 

नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको भ्याटले एयरलाइन्सलाई समेत असर परेको र हवाई यात्रु महँगो टिकट खरिद गर्न बाध्य भएको बताए। हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको उनको भनाइ छ।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समग्र पर्यटन क्षेत्रमा लगाइने करको नीतिगत रुपमा सहज बनाइनुपर्ने धारणा राखे। उनले आगामी आर्थिक वर्षको बजेटमा हवाई क्षेत्रलगायत पर्यटनका अन्य व्यवसायमा समेत लगाइने करमा हेरफेर गरिनुपर्नेमा जोड दिए।

नाट्टाका पूर्वअध्यक्ष मधु आचार्यले सरकारले हवाई टिकटमा लगाएको करलाई हटाएर अन्य विकल्प खोज्न सुझाए। छिमेकी मुलुक भारतमा आन्तरिकमा पाँच प्रतिशत र विजनेस क्लासको टिकटमा १२ प्रतिशत कर लगाएको उदाहरण दिँदै नेपालको सन्दर्भमा कर व्यावहारिक नभएको दाबी गरे। 'हवाई टिकट महँगो भएकै कारण विदेशी पर्यटक आगमन खुम्चिएको छ,' उनले भने, 'पर्यटक आकर्षण गर्न हवाई टिकटमा भ्याट हटाएर अरू उपाय खोज्नु उपयुक्त हुन्छ।'

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टले हवाई टिकट महँगो भएकाले नेपाल आउने विदेशी पर्यटक पनि खुम्चिएको बताए। भ्याटले व्यावसायिक वातावरण नबनेको तथा समग्र व्यवसायमा असर परेको दाबी गरे। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लाग्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad