कारोबार


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आउँदो वैशाख २५ देखि, चीन-भारतसहित ५ देशको सहभागिता

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आउँदो वैशाख २५ देखि, चीन-भारतसहित ५ देशको सहभागिता

नेपालखबर
चैत १०, २०८१ आइतबार १६:४९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ।

यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ। 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौँ संस्करण हो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहनेछ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ। 

कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ। मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिनेछ।

महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरू, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) गाडीहरु समेत राखिनेछ। मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरक्रृया गराउने लक्ष्य समेत रहेको छ। 

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निमार्णसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिनेछन्।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा छ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ। विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार पर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघले लिएको छ ।

मेलामा ज्येष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad