कारोबार


३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने ऊर्जामन्त्रीको निर्णय

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने ऊर्जामन्त्रीको निर्णय

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ११:२०,

नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जामन्त्री पुनले बताए।

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ। उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने स्पष्ट गरे।

‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ’, मन्त्री पुनले भने, ‘यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो।’

urjamantripun

ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवर्द्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे।

‘नाकाबन्दीका बेला पनि ग्यासको हाहाकार भयो। अहिले पनि अभाव देखिएको छ’, उनले भने, ‘बिलुजी जस्तोसुकै संकटमा पनि आउँने भएकाले स्विच थिचेपछि खाना पाक्छ।’

सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्टिङक कुकिङमा जान असम्भव भए पनि काठमाण्डौंसहित सहरी क्षेत्रबाट त्यसको सुरुआत गर्न सकिने उनको विश्वास छ।

३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजस्वमा ५० करोड नोक्सान हुन्छ। गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी विद्युत महसुलमा छुट दिने निर्णय गरेको थियो।

नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ। कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन्। लकडाउनका कारण विद्युत खपतमा भारी गिरावट आएको छ।

विद्युत बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरु बन्द भएकाले त्यस्तो अवस्था आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad