सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्ति प्रक्रिया अघि बढाएको छ।
खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै गठित सिफारिस समितिले मंगलबार दरखास्त आह्वान गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेका नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने छन्।
निगमको कार्यकारी निर्देशकका लागि २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा दरखास्त बुझाउनुपर्ने छ। कार्यकारी निर्देशक बन्न इच्छुक उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
इच्छुक उम्मेदवार कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्वघोषणा गर्नुपर्नेछ।
हाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिपक बरालले सम्हालिरहेका छन्। निगमका तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिका भट्टले गत वैशाखमा राजीनामा दिएका थिए।
Shares

प्रतिक्रिया