श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक कमलराज भट्टराईले नेपालमा राम्रो पारिश्रमिक नपाउँदा विदेश जाने बढ्ने गरेको बताएका छन्।
महानिर्देशक भट्टराईले न्यूनतम पारिश्रमिक कार्यान्वयन गनुपर्ने बताउँदै बाँच्नलाई पुग्ने रकम पाउनुपर्ने बताएका हुन्।
विभागमा पत्रकार सम्मेलन गर्दै उनले न्यूनतम पारिश्रमिक धेरै ठाउँमा कार्यान्वयन भए पनि सबै ठाउँमा नभएको उल्लेख गरे।
भट्टराईले पारिश्रमिक दिनेले सक्नेजति दिनुपर्ने र पाउनेले नेपालको अवस्थाअनुसार चित्त बुझाउँदा मात्रै श्रम क्षेत्र सहज हुने बताए।
विभागले गरेको कामका विषयमा जानकारी दिँदै विभिन्न रोजगारदाता संस्था तथा सामाजिक सुरक्षा कोषबीच सम्झौतामार्फत कोषमा सूचीकृत गर्ने प्रक्रियालाई तीव्रता दिइएको छ।
मर्यादित श्रमका लागि श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिहरुको अनुमोदनका लागि कार्ययोजना बनाई काम भइरहेको, प्रतिष्ठान, सीप तथा श्रमिकलाई औपचारिकीकरण गर्दै लैजानका लागि पूर्वतयारीका कार्य भइरहेको र श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समितिले काम सुरु गरिसकेको अवस्था छ।
विभागले आफ्नो सीमित साधनस्रोतका बाबजुद मर्यादित एवं असल श्रम अभ्यासका लागि गर्नुपर्ने सहजीकरण, अनुगमन, निरीक्षण एवं नियमनका कार्यहरुलाई यथाशक्य प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया