कारोबार


कोरोनाका कारण जागिर गुमेपछि ३३ लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

कोरोनाका कारण जागिर गुमेपछि ३३ लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ७:४९,

सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो।

उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ। बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरुको संख्याले प्रायः रोजगार गुमेको अवस्थालाई नै प्रतिबिम्बित गर्दछ।

बेरोजगारी बढ्दै गएमा अमेरिकी अर्थव्यवस्था मन्दीतर्फ जाने खतरा रहेको विश्लेषकहरुको भनाई छ। अहिले रेस्टुरेन्ट, होटल, चलचित्र थिएटर, जिम र एयरलाइन्सको आम्दानी नाटकीय रुपमा संकुचित भएको छ।

गाडीको बिक्री घट्ने क्रममा छ, र कार निर्माताहरूले कारखाना बन्द गरेका छन्। प्रायः त्यस्ता रोजगारदातामाथि ऋण भुक्तान र अन्य खर्च व्यहोर्नु पर्ने चुनौती छ। त्यसैले उनीहरू पैसा बचत गर्न रोजगारी कटौती गरिरहेका छन्।

रोजगारी गुम्नेक्रम यथावत् रहेको भन्दै केही अर्थशास्त्रीहरु आगामी मे महिनासम्ममा अमेरिकी बेरोजगारी दर १३ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन्। तुलना गरेर हेर्दा सन् २००९ मा समाप्त भएको ठूलो आर्थिक मन्दीमा पनि बेरोजगारी दर उच्चतम १० प्रतिशत मात्र थियो।

“दुई हप्ताअघि असम्भव जस्तो देखिए पनि अहिले त्यो वास्तविकतामा परिणत भएको छ,” अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री न्यान्सी भान्डेन हौटेनले भने, “अमेरिकी अर्थतन्त्रले बेरोजगारीको तीव्र बृद्धिसँगै सबैभन्दा ठूलो आर्थिक सङ्कुचन अनुभव गर्नेछ।”

आर्थिक मन्दी द्रुत गतिमा भएको छ। गत फेब्रुअरीमा मात्र बेरोजगारी दर ५० वर्षकै न्यून अर्थात् ३।५ प्रतिशतमा झरेको थियो। अर्थव्यवस्था पनि स्थिरता अघि बढेको थियो। केही अर्थशास्त्रीहरू विचारमा यस वर्षको अप्रिल–जुनको अवधिमा अमेरिकी अर्थतन्त्र अहिलेसम्मको सबैभन्दा तीव्र वार्षिक गतिमा संकुचित हुनेछ। र यो संकुचन ३० प्रतिशतसम्म पुग्न सक्नेछ।

श्रम विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गत साता ३२ लाख ८३ हजारले बेरोजगारी भत्ताका लागि आवेदन गरेको उल्लेख छ। अघिल्लो साता यो संख्या २ लाख ८२ हजार मात्र थियो। राज्यका वेबसाइट र फोन प्रणालीले राम्रोसँग काम नगरेकाले पनि अझै ठूलो संख्याका नयाँ बेरोजगारहरुले आवेदन गर्न सकेका छैनन्।

कम्पनीबाट जागिर गुमाएका तलबी कामदार, स्वतन्त्र कामकाजी पेशाकर्मी र स्वरोजगार व्यक्तिले वर्तमान अवस्थामा बेरोजगारी भत्ताका लागि आवेदन गर्न योग्य हुने छैनन्।

बेरोजगार भत्ताका लागि ठूलो संख्यामा आवेदन दिएको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विषम परिस्थितिमा यस्तो हुनु स्वाभाविक रहेको बताएका छन्। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad