ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको डिजाइनमै त्रुटि भेटिएको छ।
ठेक्का पाएकै कम्पनीले फ्लाइओभरको डिजाइन गरी काम सुरु गरे पनि भत्काउँदै बनाउँदै गर्नुपरेको छ।
२०७९ पुसबाट फ्लाइओभर निर्माण सुरु भए पनि डिजाइनमै त्रुटि हुँदा यात्रुलाई सास्ती र निर्माण कम्पनीले घाटा व्यहोरिरहेको छ। निर्माण सुरु भएको १ महिनामै फ्लाइओभरको डिजाइन परिवर्तन गर्नुपरेको थियो।
२ वर्षअघि पुसमा सुरु भएको काम माघमा रोकिएको थियो। लामो समय डिजाइनको कामले पूर्णता नपाउँदा निर्माणमा ढिलाइ भएको थियो। यसको निर्माणका लागि १७ करोड ६ लाखमा ठेक्का सम्झौता भएको छ।
‘डिजाइन एन्ड बिल्ड’ (ईपीसी) मोडलमा आरसी, समानान्तर र रिलेग्रे निर्माण कम्पनीले संयुक्त रूपमा फ्लाइओभर निर्माण गरिरहेका छन्।
भिडिओ:
‘डिजाइनमा केही समस्या रहेको देखिएको थियो,’ गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डिभिजनल इन्जिनियर (सीडीई) प्रदीप भण्डारीले भने, ‘निर्माण कम्पनीले नै डिजाइन बनाएकाले अहिले सच्याएर पुनः निर्माणको काम गरिरहेको छ।’
इन्जिनियर भण्डारीले सरकारले ठेक्का सम्झौता गरेको रकम मात्रै कम्पनीलाई दिने बताउँदै डिजाइनमा त्रुटि भए निर्माण व्यवसायीले नै व्यहोर्ने उल्लेख गरे।
‘कम्पनीले समयमै काम नसकेकाले हर्जना तिरेरै काम गरिरहेको छ,’ उनले भने, ‘निर्माण जति ढिला हुन्छ, कम्पनीकै लागत बढ्दै जान्छ। सरकारलाई हर्जना तिर्नुपर्छ।’
निर्माणमा ढिलाइ हुँदा कम्पनीको खर्च मात्र नबढी यात्रुले समेत सास्ती भोगिरहेका छन्। र, यो सास्ती कहिलेसम्म लम्बिने हो भन्ने यकिन छैन। अहिले सातदोबाटो–ग्वार्को हुँदै यात्रा गर्ने यात्रुले अत्यासलाग्दो ट्राफिक जाम भोग्नुपरिरहेको छ भने धुलो र पानी पर्दा हिलोको समस्याले थप सताउने गरेको छ।
तस्बिरहरू





















Shares

प्रतिक्रिया