कारोबार


कर्जा के हो, यसबाट कसरी लाभ लिने? यी कुरामा ध्यान दिनुहोस्

कर्जा के हो, यसबाट कसरी लाभ लिने? यी कुरामा ध्यान दिनुहोस्

नेपालखबर
चैत ४, २०८१ सोमबार १४:९, काठमाडौँ

भविष्यमा फिर्ता गर्ने शर्तमा कसैबाट लिइएको रकम नै कर्जा (ऋण) हो।

हालको कुनै निश्चित आवश्यकतापूर्ति गर्न रकमको अभाव भएमा भविष्यमा फिर्ता गर्ने शर्तमा कुनै व्यक्ति वा बैंक वा वित्तीय संस्था वा अन्य संस्थाबाट लिइने रकमलाई कर्जा भनिन्छ। 

भुक्तानी अवधि, भुक्तानी गर्ने तरिका र ब्याजदर कर्जाका आधारभूत सर्तहरू हुन्। कर्जा लिने र दिने पक्षबीच यसका बारेमा सहमति वा सम्झौता भएको हुन्छ।

कर्जा एक वित्तीय उपकरण हो। यसको उपयोग गरी व्यवसाय वा उद्यम गर्न, उच्च शिक्षा हासिल गर्न, व्यक्तिगत आवश्यकतापूर्ति गर्न वा मूल्यवान् वस्तु खरिद गर्न सकिन्छ। कर्जा निःशर्त हुँदैन। यसका आफ्नै शर्तहरू हुन्छन्। बैंक तथा वित्तीय संस्थाले ग्राहकको आवश्यकता, कर्जाको प्रयोजन (केका लागि कर्जा लिइएको?), ग्राहकको आय/आम्दानी/नगदप्रवाह, जमानत, धितो/सम्पत्ति, क्रेडिट रेटिङ/इतिहास, पहिले कर्जा लिएको भए सोको अवस्था आदिको विश्लेषण गरी कर्जा प्रवाह गर्ने गर्दछन्। 

ऋणीले कर्जाको सावाँ रकमका साथै सम्झौताअनुसारको ब्याज पनि थप गरेर तोकिएको समयभित्र भुक्तानी गर्नुपर्ने दायित्व वहन गर्नुपर्ने हुन्छ। ऋणीले तोकिएको समयभित्र कर्जा भुक्तानी गर्न नसकेमा धितोबाट असुली गर्नुपर्ने हुन्छ।

कर्जाका फाइदाहरूः

  • आफूलाई आवश्यक परेको रकम सुनिश्चित गर्न सकिने।
  • थोरै स्वपुँजी लगानी गरी व्यापार/व्यवसायको लागि आवश्यक पुँजी जुटाउन गर्न सकिने।
  • व्यापार/व्यवसायको लागि लिएको कर्जाको कारण कर छुट हुन सक्ने।
  • पुँजी निर्माण भई अर्थतन्त्रको विस्तारमा टेवा पुग्ने। 

कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरूः

  • धितो, जमानी आदिको व्यवस्था गर्नुपर्ने।
  • विभिन्न कागजातमार्फत ग्राहकले आफ्नो साख प्रमाणित गर्नुपर्ने।
  • पूर्वनिर्धारित शर्त र तालिकाबमोजिम भुक्तानी गर्नुपर्ने।
  • कर्जा दुरूपयोग गरेमा विभिन्न प्रकारका कानुनी कारबाही हुने।

योजनाबद्ध रुपमा कर्जा उपयोग गरेमा माथि उल्लेख गरिएका लाभ लिन सकिन्छ तर निश्चित प्रयोजन वा योजना विना, झुठो विवरण उल्लेख गरी कर्जा लिइएको छ भने त्यसले समस्या निम्त्याउँछ। सकेसम्म उत्पादनमूलक कामका लागि ऋणको प्रयोग गर्नुपर्दछ।

कर्जाका किसिमः
बैंक वा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा विभिन्न प्रकारका हुन्छन्। सामान्यतः कर्जालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छः

क) कोषमा आधारित कर्जाः

  • १) आवधिक कर्जाः भुक्तानी अवधि एक वर्षभन्दा बढी भएका कर्जाहरू जस्तैः घर कर्जा, सवारी साधन कर्जा, निर्माण कर्जा, मेसिनरी खरिद कर्जा आदि।
  • २) चालू पुँजी कर्जाः भुक्तानी अवधि एक वर्षभन्दा कम भएका कर्जाहरू जस्तैः क्यास क्रेडिट कर्जा, डिमान्ड कर्जा आदि।

ख) गैरकोषमा आधारित : प्रतीतपत्र, बैंक जमानत आदि।

(राष्ट्र बैंकले १३औँ ग्लोबल मनि विकको अवसरमा सार्वजनिक गरेको वित्तीय साक्षरताको आधारभूत अवधारणाबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad