ग्लोबल


पुटिनसँग मंगलबार कुरा गर्ने ट्रम्पको योजना

पुटिनसँग मंगलबार कुरा गर्ने ट्रम्पको योजना

फाइल तस्बिर: पुटिन र ट्रम्प


नेपालखबर
चैत ४, २०८१ सोमबार १४:११, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा युक्रेनसँग भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।

‘मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने। 

‘मलाई लाग्छ, युक्रेन र रुस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलोपटक यसबारे कुरा गर्दै छौँ र केही जमिनको दाबीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दै छौँ।’ 

वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन्। बरु सर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमा ‘गम्भीर प्रश्न’ उठाएका छन्। 

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, ‘दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ।’

उनले भने, ‘सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो। कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन्।

रुबियो-लाभरोभ वार्ता

यसअघि मस्कोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभलाई गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा भएका ‘समझदारी कार्यान्वयनका ठोस पक्ष’बारे छलफल गर्न फोनमार्फत कुराकानी भएको बताएको थियो।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण सुरु गरेयता अमेरिका र रुसबीच फेब्रुअरीमा भएको रियाद सम्मेलन पहिलो उच्चस्तरीय बैठक थियो। बैठकपछि ‘विदेशमन्त्री लाभरोभ र उनका अमेरिकी समकक्षी रुबियोबीच सम्पर्कमा रहने सहमति भएका’ रुसी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले शनिबार दुवै पक्षले युक्रेनका विषयमा ‘आगामी कदमबारे छलफल’ गरेको र संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनर्स्थापनाका लागि काम जारी राख्न सहमत भएको बताएका छन्।

बेलायतले युक्रेनबारे भर्चुअल शिखर सम्मेलन आयोजना गरेको केही घण्टापछि लाभरोभ–रुबियोबीच कुराकानी भएको थियो, जसमा प्रधानमन्त्री केयर स्टार्मरले पुटिनले युद्धविरामलाई अघि बढाउन नचाहेको र यो वा त्यो बहानामा समय खेर फाल्ने काम गरिरहेको आरोप लगाएका थिए। 

‘रुसले वार्ता गर्ने त भनेको छ तर वार्ताका लागि उसको पहल पर्याप्त छैन’, स्टार्मरले भने, ‘युक्रेनमा हुने रुसी बर्बर आक्रमण सदाका लागि रोक्नुपर्छ।’

आइतबार किएभले मस्कोले युक्रेनका नौवटा क्षेत्रमा इरानमा निर्मित ९० वटा शाहेद ड्रोन प्रक्षेपण गरेको बताएको थियो।

यसै साताको सुरुमा युद्धविरामबारे प्रतिक्रिया व्यक्त गर्दै पुटिनले यो पहलले मुख्यतः युक्रेनलाई फाइदा पुग्ने भन्दै वार्ता पहलमा ‘गम्भीर प्रश्न’ उठाएका थिए। 

युक्रेनको दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको रुसले युद्ध मोर्चाका केही क्षेत्रमा गति लिइरहेका बेला यो प्रस्ताव आएको उनको दाबी छ। 

रुसले आफ्नो कुर्स्क क्षेत्रको केही भागबाट युक्रेनी सेनालाई पछि धकेलेको छ। उक्त क्षेत्र किएभका लागि  भविष्यमा हुने कुनै पनि वार्तामा सम्भावित ‘बार्गेनिङ’ शक्तिका रूपमा रहने युक्रनको विश्वास छ।

पुटिनले मस्कोको चासोका विषयमा ट्रम्पसँग फोनवार्तामा छलफल गर्न चाहेको आइतबार बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad