नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोसी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोसीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो। हाल त्यसको मर्मत र सुधार धमाधम भइरहेको छ।
१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोसीबाट हिउँदमा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुने अपेक्षा छ। हिउँदयामको मागबमोजिम विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोसीलाई शीघ्र सञ्चालनमा ल्याउन पहलका साथै ताकेता गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् मध्यभोटेकोसी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएको छ।

मध्यभोटकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोसी–काठमाडौँ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ।
प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा भइसकेका छन्। करिब एक किलोमिटर मात्र तार तान्न बाँकी छ।
४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्यभोटेकोसीको विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ। उक्त लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ।
कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नु पर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ। प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामकोसमेत टोलीले निरीक्षण गरेको थियो।
हिउँदयामको विद्युत् भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैँ फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिए।
बाह्रबिसे नगरपालिका–५ स्थिति मध्यभोटेकोसी आयोजनाको विद्युत्गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब ४ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ।
तामाकोसी तथा सुनकोसी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण गरिएको हो।
बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ। आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।
Shares

प्रतिक्रिया